काठमाडौं । बंगलादेश नेसनल पार्टी (बीएनपी) दुई दशकपछि मंगलबार औपचारिक रूपमा सत्तामा फर्कदैछ। फेब्रुअरी १२ मा सम्पन्न १३औँ राष्ट्रिय संसदीय निर्वाचनमा पार्टीले भारी मतका साथ विजय हासिल गरेपछि, बीएनपीका अध्यक्ष तथा पहिलो पटक सांसद बनेका तारिक रहमानले प्रधानमन्त्रीको रूपमा शपथ लिँदैछन्। उक्त शपथ ग्रहण समारोहमा सहभागी हुन नेपालका परराष्ट्रमन्त्री बालानन्द शर्मा सोमबार राति ढाका पुगेका छन्।
हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री शर्मा र नेपाली प्रतिनिधिमण्डललाई बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी र बंगलादेशको परराष्ट्र मन्त्रालयका सचिव डा। मोहम्मद नजरुल इस्लामले भव्य स्वागत गरेका थिए। बंगलादेशमा सम्पन्न १३ औँ संसदीय निर्वाचनपछि गठन हुन लागेको नयाँ सरकारको स्वागतका लागि नेपालले उच्चस्तरीय प्रतिनिधित्व पठाएको हो।
मन्त्रिपरिषद्को शपथ ग्रहण समारोह संसद भवनको साउथ प्लाजामा आयोजना गरिनेछ। राष्ट्रपति भवनमा सपथ ग्रहण गराउने दशकौँ पुरानो परम्परा तोड्दै, साउथ प्लाजामा आयोजित यो कार्यक्रमले २०२४ को ‘मनसुन क्रान्ति’ का क्रममा ज्यान गुमाएका सहिदहरूको योगदानलाई सम्मान गर्नेछ। सोही आन्दोलनले आवामी लिग सरकारको सबैभन्दा लामो कार्यकालको अन्त्य गरेको थियो।
