काठमाडौं, साउन १५ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक संयुक्त राज्य अमेरिकाको पनि ऋण छ भनेर सुन्दा तपाईलाई आश्चर्य लाग्ला । तर आश्चर्य मान्नु पर्दैन । त्यहाँको सरकारको पनि राष्ट्रिय ऋण ठूलो परिमाणमा छ ।
त्यहाँको संघीय सरकारको कुल सार्वजनिक ऋण पहिलो पटक ३५ ट्रिलियन अमेरिकी डलर पुगेको छ । अमेरिकाको ट्रेजरी विभागले सोमबार सार्वजनिक गरेको नयाँ तथ्या.क अनुसार अमेरिकी सरकारको ऋण इतिहासमा पहिलो पटक ३५ ट्रिलियन डलर अर्थात् ३५० खर्ब डलर पुगेको सीएनबीसी ले आफ्नो वेबसाइटमा समाचार छापेको छ ।यो तथ्यांक हरेक व्यवसायिक दिनको अन्त्यमा अद्यावधिक हुन्छ ।
सात महिना अघि सन् २०२३ को डिसेम्बरको अन्त्यतिर अमेरिकाको राष्ट्रिय ऋण ३४० खर्ब डलरको आसपासमा थियो । त्यसभन्दा तीन महिनाअघि सेप्टेम्बरमा पनि अमेरिकाको ऋण इतिहासमा पहिलो पटक ३३० खर्ब डलर पुगेको थियो ।
संघीय बजेट समितिका अध्यक्ष माया म्याकगुइनेसले अहिलेको सरकारले ऋण लिने मात्रै काम गरेर लापरबाही गरिरहेको आरोप लगाउँदै अब खतराको घण्टी बज्ने जोखिम रहेको चेतावनी दिएकी छन् । अमेरिकाले सामना गरिरहेको खतरामध्ये सार्वजनिक ऋण प्रमुख विषय बनिरहेको र यो बारेमा राष्ट्रपति र अन्य सबै जिम्मेवार निकाय गम्भीर हुनुपर्ने उनको भनाइ छ ।
पिटर जी पिटरसन फाउन्डेशनका अनुसार यो ऋण अमेरिकी जनसङ्ख्यालाई भाग गर्दा प्रतिव्यक्ति १ लाख ३ हजार ९४५ डलर हुन जान्छ । सरकार ऋणमा डुब्दै जाँदा सामाजिक सुरक्षाका कार्यक्रम प्रभावित हुने चिन्ता थपिएको समाचारमा उल्लेख छ ।
अमेरिकन इन्टरप्राइज इन्स्टिच्युटका वरिष्ठ अनुसन्धानदाता तथा अन्तरराष्ट्रिय मुद्रा कोषका पूर्वअधिकारी डेस्मन्ड लाचम्यानले अमेरिकी बजेट घाटा असह्य बाटोमा रहेकोमा कुनै शङ्का नभएको बताएका छन् ।सीएनबीसी
