काठमाडौं। सरकारले उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) तोकेको छ।
पानी उत्पादक कम्पनीले एकै प्रकारका गुणस्तर, नापतौल र परिमाणको पानीमा फरक–फरक एमआरपी लगाई बिक्री–वितरण गरेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले समान मूल्य कायम गर्न निर्देशन दिएको हो।
विभागका अनुसार काठमाडौं उपत्यकामा बिक्री हुने जार (२० लिटर) को मूल्य प्रतिगोटा अधिकतम ४७ र एक लिटरको बोतल पानीको मूल्य १६ रुपैयाँ तोकिएको छ।
होटल, रेस्टुरेन्ट र व्यवसायी फर्मसँग भने पानी उत्पादक कम्पनीले अधिक मूल्यको एमआरपी सम्झौताअनुसार तोक्ने गरेका छन्। होटल र रेस्टुरेन्टमा बढी मूल्यको एमआरपी राखेको भन्दै विभागले पानी उत्पादक कम्पनीलाई सचेत गराएको छ।
एमआरपी नियम पालना नगरे कानुन अनुसार कारबाही गर्ने पनि विभागको चेतावनी दिएको छ।

