Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

देउवाले भने-'अफवाहको पछि नलाग्नू, ओली जीलाई हाम्रो पूर्ण साथ छ'

देउवाले भने-'अफवाहको पछि नलाग्नू, ओली जीलाई हाम्रो पूर्ण साथ छ'

अर्थ प्लस
देउवाले भने-'अफवाहको पछि नलाग्नू, ओली जीलाई हाम्रो पूर्ण साथ छ'

काठमाडौँ , भदौ १९ । सत्ता गठबन्धनको प्रमुख साझेदार तथा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार सञ्चालनको विषयमा एमालेसँग कुनै मतभेद नरहेको प्रष्ट पारेका छन् ।  

बुधबार काठमाण्डौमा आयोजित नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको विशेष समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले बाहिर हल्ला भएजस्तो वर्तमान गठबन्धनमा कुनै समस्या नरहेको र ढुक्क भएर काम गर्न कर्मचारीलाई निर्देशन दिए। 

सत्ता गठबन्धन र सरकारका विषयमा विरोधीहरु तथा अस्थिरता चाहनेहरुलाई फैलाएको हल्ला पछि नलागी सरकारले गरेका निर्णयहरुको कार्यान्वयनमा दत्तचित्त भएर लाग्न उनले कांगे्रेस निकटका कर्मचारीलाई आग्रह गरे ।  

उनले प्रजातन्त्र र गणतन्त्रको रक्षाका लागि कांग्रेस र एमालेबीच कुनै मतभेद नरहेकाले वर्तमान सरकारलाई आफ्नो दलको पूरा समर्थन रहने बताए ।  

‘अहिलेको बेला चुनौतीपूर्ण पनि छ । यस्तो अवस्थामा कर्मचारी युनियनका साथीहरू अझ बढी जागरूक हुनुपर्नेछ । कहाँ चुनौती छ, सबैले बुझ्नुभएको छ । प्रजातान्त्रिक प्रणालीलाई हामीले जोगाउनुछ । त्यसमा हामी सबै लाग्नुछ ।' उनले भने-' कतिपय विषयमा मतभेद होलान् । एमालेसँग कांग्रेसको र कांगे्रसँग एमालेको शासकीय रुप तथा व्यवस्थाको विषयमा मतभेद होलान् । तर बहुदलीय प्रजातान्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा हामी दुई पार्टीका बीचमा कुनै मतभेद छैन । त्यसकारण अहिलेको सरकारलाई पूराका पूरा समर्थन छ हाम्रो । खास खास कुरामा हाम्रो एउटै धारणा भएको हुनाले अरुसँग मिल्ने, तत्काल अर्को सरकार बनाइहाल्ने, त्यस्तो कुरा छैन । ' 

उनले एमाले र कांगे्रस मुख्य प्रतिस्पर्धी दल भए पनि संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आफूहरु एक ठाउँमा उभिएको प्रष्ट पारे । 'मलाई विश्वास छ, ओलीजी र मैले मिलेर तथा अरु साथीहरुको समेत साथका कारण अहिलेको सरकार पूरापूर चल्छ । हाम्रा सहमतिहरु कार्यान्वयन हुन्छन् । योसँगै गणतन्त्र संस्थागत र बलियो पनि बनाउनेछौं ।'देउवाले थपे ।   

सम्बन्धित समाचार