Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

एमेच्योर राहुल सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि रक्षा गर्न सफल, प्रो जयराम १४ स्ट्रोकले पराजित

एमेच्योर राहुल सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि रक्षा गर्न सफल, प्रो जयराम १४ स्ट्रोकले पराजित

अर्थ प्लस
एमेच्योर राहुल सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि रक्षा गर्न सफल, प्रो जयराम १४ स्ट्रोकले पराजित

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५–२६ को पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि डिफेन्डिङ च्याम्पियन एमेच्योर राहुल विश्वकर्माले जितेका छन् । उनले प्रो र एमेच्योर दुवै तर्फको उपाधि जित्न सफल भए । यो उनको करियरको तेस्रो उपाधि हो ।

प्रोफेसनल खेलाडी जयराम श्रेष्ठलाई १४ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै राहुल उपाधि रक्षा गर्न सफल भएका हुन् । प्रतियोगिताको अन्तिम दिन बिहीबार  ४–अन्डर ६८ स्कोर गरेका राहुलले समग्रमा १४–अन्डर २७४ सहित उपाधि जितेका हुन् ।

जयराम श्रेष्ठले आज खराब प्रदर्शन गर्दै ५–ओभर ७७ स्कोर गर्दा समग्रमा इभन–पार २८८ सहित दोस्रो स्थान प्राप्त गरे । प्रोतर्फ पहिलो भएका जयरामले एक लाख ७० हजार पुरस्कार प्राप्त गरे ।

समग्रमा २–ओभर २९० को स्कोरमा तोरण विक्रम शाही र भुवन नगरकोटीले संयुक्त रूपमा तेस्रो स्थान प्राप्त गरे । तोरणले इभन–पार ७२ र भुवनले ४–अन्डर ६८ मा चौथो दिनको खेल सकाए । उनीहरूले एक लाख १२ हजार ५ सय नगद पुरस्कार हात पारे ।

नेपाल नम्बर एक प्रो निरज तामाङले समग्रमा ३–ओभर २९१ को स्कोरमा पाँचौँ स्थान हात पारे । उनले आज ३–अन्डर ६९ मा खेल सकाए । उनले ८२ हजार नगद पुरस्कार प्राप्त गरे ।

समग्रमा ४–ओभर २९२ को स्कोरमा भुवनकुमार रोक्का, शुक्रबहादुर राई, दिनेश प्रजापति र एमेच्योर रूबेन थापा संयुक्त रूपमा छैटौँ भए । भुवनले ४–ओभर ७६ खेल्दा शुक्र र दिनेशले २–ओभर ७४ मा खेल पूरा गरे । उनीहरूले ६४ हजार ३३३ नगद पुरस्कार प्राप्त गरे ।

एमेच्योर रूबेनले २–अन्डर ७० स्कोर गरे । रुबेन एमेच्योरतर्फ दोस्रो भए । अर्का एमेच्योर साम डोबलार्ड दशौँ भए । उनले आज १–ओभर ७३ को स्कोरसहित समग्रमा ८–ओभर २९६ स्कोर गरे ।

अन्तिम १८ होलको सुरूवात गर्दा ५ स्ट्रोकको अग्रता रहेको राहुललाई अन्य खेलाडीले चुनौती दिन सकेनन् । फ्रन्ट नाइन ३–अन्डर ३३ खेलेसँगै राहुलले उपाधि जित्ने लगभग निश्चित भएको थियो । राहुलले दोस्रो, तेस्रो, आठौँ र नवौँ होलमा बर्डी प्रहार गरे । पाँचौँ होलमा एक सट खेर फाले । यसपछि १७औँ होलको बोगीविरूद्ध १२औँ र १५औँ होलको बर्डीले ब्याक नाइन १–अन्डर ३५ मा सकाए ।

जयरामले फ्रन्ट नाइन इभन–पार ३६ मा सकाउने क्रममा पहिलो र दोस्रो होलमा लगातार दुई बर्डी प्रहार गरे । तर, तेस्रो र सातौँ होलमा एक–एक सट खेर फाले । यसपछि उनले ब्याक नाइन बिर्सनलायक खेले । १०औँ र १२औँ तथा १४ देखि १६ सम्म लगातार तीन गरी कुल ५ बोगी प्रहार गरे । यो खराब प्रदर्शनमा ब्याक नाइन ५–ओभर ४१ मा सकाए ।

तोरणले फ्रन्ट र ब्याक नाइन दुवै इभन–पार ३६ मा सकाए । फ्रन्ट नाइनमा उनले सबै होलमा पार बचाए । ब्याक नाइनमा १०औँ, १२औँ र १४औँ होलमा बर्डी प्रहार गरे । तर ५–पारको १५औँ होलमा डबल बोगीको समान गर्दा १८औँ होलमा बोगी प्रहार गरे ।

भुवनले फ्रन्ट र ब्याक नाइन दुवै २–अन्डर ३४ मा सकाए । उनले पहिलो, तेस्रो, चौथो तथा १६ देखि १८ होलमा लगातार तीन गरी कुल ६ बर्डी प्रहार गरे । आठौँ र चौधौँ होलमा एक–एक सट खेर फाले ।

७२ होलको प्रतिस्पर्धामा ३७ प्रोफेसनल र २५ एमेच्योर गरी कुल ६२ खेलाडीको सहभागिता रहेको थियो । जहाँ कट बनाउने १८ प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गरे । सिजनको पहिलो प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको थियो ।

प्रतियोगिताका विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका डेप्युटी जनरल म्यानेजर केशव प्रधान र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार प्रदान गरे ।

सम्बन्धित समाचार