Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

दशैंमा भोकै परेका अलपत्र मजदुरलाई नगरपालिकाले दियो मासुसहित खाद्यन्न

दशैंमा भोकै परेका अलपत्र मजदुरलाई नगरपालिकाले दियो मासुसहित खाद्यन्न

अर्थ प्लस
दशैंमा भोकै परेका अलपत्र मजदुरलाई नगरपालिकाले दियो मासुसहित खाद्यन्न

दशैंको मुखमा काम गरेको ज्याला नपाएर घर फर्किन नसकी कार्यस्थलमै अलपत्र परेका १२ जना निर्माण मजदुरलाई धादिङको नीलकण्ठ नगरपालिकाले दशैंका लागि मासुसहित खाद्यान्न सामाग्री उपलब्ध गराएको छ । 

चाडबाडको समयमा खाद्य संकट झेलिरहेका मजदुरहरूलाई नगरपालिकाले दाल, चामल, तरकारी र मासुसहितको राहत सामग्री हस्तान्तरण गरेको हो ।

नीलकण्ठ नगरपालिका–३ र १२ जोड्ने थोपल खोला पक्की पुल निर्माणमा खटिएका ती मजदुरहरूले विगत ५–६ महिनादेखि ज्याला पाएका थिएनन् । हातमा सुको नहुँदा घर जाने गाडीभाडा समेत जुटाउन नसकेपछि उनीहरू कार्यस्थलमै रोकिन बाध्य भएका थिए । 

३६ जनाको टोलीमध्ये २४ जनाले साथीभाइसँग ऋण काढेर र घरबाट पैसा मगाएर दशैं मनाउन घर फर्किए पनि आर्थिक अभावका कारण सल्यानका सात, बाँकेका दुई, सुर्खेतका दुई र गोरखाका एक गरी १२ जना मजदुर धादिङमै अलपत्र छन् ।

नगरपालिकाले दशैंकै अवसर पारेर खाद्यान्न सामाग्री दिएपछि मजदुरहरूले ठूलो राहत महसुस गरेका छन् । आफ्नै नगरभित्र श्रम गरिरहेका मजदुरहरू चाडबाडका बेला भोकै बस्नुपर्ने अवस्था आएको थाहा पाएपछि खाद्यान्न सहयोग गरिएको नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाले बताए ।

"परिवारसँग बसेर दशैं मनाउन नपाए पनि मजदुरहरूले काम गरेकै ठाउँमा मीठो-मसिनो खाएर चाडबाड मनाउन सकून् भनेर खाद्यान्न सामाग्री वितरण गरेका हौं," नगर प्रमुख ढुंगानाले भने ।

नगरपालिकाको सहयोगले दशैंको समयमा छाक टार्ने चिन्ता हटे पनि मजदुरहरूले ६ महिनादेखि रोकिएको आफ्नो ज्याला भुक्तानीका लागि पहल गरिदिन आग्रह गरेका छन् । सल्यानका अम्मर कार्कीले भन्छन्-"हाम्रो ज्याला दिलाइदिएर हामीलाई घर पठाइदिनुहोस् ।"

सम्बन्धित समाचार