काठमाण्डौ, असोज ३० । कामना सेवा विकास बैंक लिमिटेडको वार्षिक साधारण सभा आज (असोज ३०) काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्शन भगवतीमा भव्य रुपले सम्पन्न भएको छ । बैंकको संचालक समितिका अध्यक्ष सुदिप आचार्यको अध्यक्षतामा भएको साधारणसभाले ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी जम्मा १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यस्तै सभाले १०० रुपैयाँको दरले ३५ करोड रुपैयाँ बराबरको वार्षिक ९ प्रतिशत लाभांश दर कायम हुनेगरी अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गरी प्राथमिक पुँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरहरू छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।सभामा एक दर्जन भन्दा धेरै सेयरधनीहरुले बोलेका थिए । सभामा बोल्ने अधिकांश सेयरधनीले बैंकलाई लाभांश दिइएकोमा र समयमै साधारणसभा गरेकोमा धन्यवाद दिएका थिए । सभामा बोल्ने सेयरधनीले बैंकका संचालक समितिका अध्यक्ष सुदिप आचार्य र प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिनेश थकालीको खुलेर प्रसंशा गरेका थिए ।
