Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
अर्थतन्त्र

जनताले घरखेत बेचेर उपचार गराउनु पर्ने बाध्यताको अन्त्य गर्छौं : मुख्यमन्त्री पाण्डे

जनताले घरखेत बेचेर उपचार गराउनु पर्ने बाध्यताको अन्त्य गर्छौं : मुख्यमन्त्री पाण्डे

जनताले घरखेत बेचेर उपचार गराउनु पर्ने बाध्यताको अन्त्य गर्छौं : मुख्यमन्त्री पाण्डे
पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्ने बताएका छन् । पर्वत अस्पतालमा हेमोडायलाइसिस सेवाको आज शुभारम्भ गर्दै उनले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट स्वास्थ्य क्षेत्र केन्द्रित गरिने जानकारी दिए । उनले प्रदेशको स्वास्थ्य सुधारमा धेरै आवश्यकता रहे पनि स्रोत र साधन सीमित हुँदा तत्काल गर्न नसकिएको बताए।
 
मुख्यमन्त्री पाण्डेले नागरिकले सम्पत्ति बेचेर उपचार गर्नुपर्ने दिनको अत्य गरिने बताए । कुनै ठूलो रोग लागिहाल्यो भने पनि सामान्य नागरिकले आफ्नो घरखेत बिक्री गरेर उपचार गर्न नपरोस् भन्नेतर्फ प्रदेश सरकार गम्भीर भएर लागेको उनको भनाइ छ ।
 
मुख्यमन्त्री पाण्डेले आगामी आर्थिक वर्षभित्र मिर्गौलाको डायलासिस गर्नुपर्ने बिरामीको सङ्ख्या शून्यमा झारिने बताए । अहिले भइरहेको स्रोतसाधनबाट छ सय ६६ जनाले उपचार सेवा लिइरहेका र अझै एक सय ७८ जना डायलासिस गर्नुपर्ने बिरामी प्रतिक्षारत रहेको बताउँदै एक वर्षभित्रमा यो सङ्ख्या शून्यमा झारिने उनले बताए ।
उनले आगामी आर्थिक वर्षमा गोरखा र पर्वत अस्पताललाई स्तरोन्नति गरी ५० श्ययाको अस्पताल बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे । मुख्यमन्त्री पाण्डेले १० वर्ष मुनिका बालबालिकाको उपचारसेवा गत वर्षदेखि नै निःशुल्क गरिँदै आएको जानकारी दिए ।
 
उनले स्वास्थ्य सेवालाई सर्वसुलभ र गाउँगाउँमा रहेका स्वास्थ्यचौकीसम्म गुणस्तरीय सेवा विस्तारका लागि पहल भइरहेको बताए । उनले पर्वत अस्पतालमा चालु आर्थिक वर्षभित्रै ‘बि’ ग्रेडको एम्बुलेन्स सेवा उपलब्ध गराउने र खानेपानीको समस्या समाधानका लागि सरकारले आवश्यक सहयोग गर्ने बताए ।
 
उनले आगामी वर्षदेखि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन रकम दिने व्यवस्था गरिने बताउँदै उक्त कार्यक्रमले पोखरामा मात्र सीमित विशेषज्ञ डाक्टर अन्य जिल्लामा जाने विश्वास व्यक्त गरे । ‘विशेषज्ञ डाक्टरको दरबन्दी प्रदेशभरि नै अभाव छ,, उनले भने, ‘पोखराभन्दा बाहिरी जिल्लामा जान नमान्ने समस्याले पनि नागरिकले सेवा पाउन नसकेका हुन् ।’
 
गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले गण्डकी प्रदेशका पर्वत, बागलुङ, लमजुङ, स्याङ्जालगायत जिल्लामा डायलासिस गर्नुपर्ने प्रतिक्षारत बिरामीको सङ्ख्या शून्यमा झरिसकेको बताए । उनले प्रदेश सरकारले थप  एक करोड ५५ लाख रुपैयाँ विनियोजन गरेकाले अन्य जिल्लामा डायलासिस गर्नुपर्ने बिरामीलाई चालु आर्थिक वर्षभित्र सेवा दिनेगरी तयारी गरिएको बताए ।
 
उनले सुत्केरी हुन नसकेका महिलालाई प्रदेश सरकारले निःशुल्क हेलिकप्टर सेवा सुरुआत गरेको जनाउँदै चालु आर्थिक वर्षमै ६४ महिलाले सेवा लिएको बताए । प्रदेशका ११ वटै जिल्लामा २४सै घन्टा हेलिकप्टर सेवा सञ्चालन भइरहेको उनले जानकारी दिए ।
 
डायलासिस सेवा विस्तार भएपछि हप्तामा दुई पटकसम्म सेवा लिनुपर्ने बिरामीलाई थप सहज भएको छ । अहिले पर्वत, बागलुङ र म्याग्दीका गरी २६ बिरामीले पर्वत अस्पतालबाट नियमित डायलासिस सेवा लिँदै आएका छन् । अझै थप सात जनालाई सेवा दिन सकिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बास्तोलाले जानकारी दिए ।
 
सात श्ययामा नियमितरुपमा बिरामी राखेर डायलासिस गर्न थालेपछि आफूहरुलाई सहज भएको बिरामी अलिमान सुनुवारले बताए । पाँच महिनादेखि नियमित डायलासिस गर्दै आएका सुनुवारले पहिलेभन्दा अहिले निकै सहज भएको र अस्पताल आउँदाकै दिन सेवा लिन पाइएको बताए ।

सम्बन्धित समाचार