काठमाडौं, माघ २४ । चालु आर्थिक वर्षको पहिलो ६ महिनाको वित्तीय विवरण धमाधम सार्वजनिक भइरहेको छ । बीमा कम्पनीहरुमध्ये पछि प्रिमियममा आइपीओ जारी गरेका जीवन बीमा कम्पनीहरुमा लगानीकर्ताको विशेष चासो देखिएको छ ।
जीवन बीमा कम्पनीमध्ये आइएमई लाइफ, सन नेपाल लाइफ, रिलायवल नेपाल लाइफ र सिटिजन लाइफले प्रिमियम मूल्यमा आइपीओ निष्काशन गरेका थिए । नेपाल बीमा प्राधिकरणले प्रिमियममा आइपीओ निष्काशन गरेका बीमा कम्पनीहरुलाई प्रिमियमबापत् जम्मा भएको रकम खर्च नगरी एउटा छुट्टै कोष बनाएर राख्न निर्देशन दिएपछि तिनीहरुले कसरी पुँजी पुर्याउँछन् भन्ने जिज्ञासा लगानीकर्तामा व्याप्त छ ।
हुन त प्राधिकरणले कम्पनीको रिजर्भलाई समेत चुक्ता पुँजीमा गणना गर्न दिने मौखिक जवाफ दिने गरे पनि आधिकारिक निर्देशन भने आइसकेको छैन । प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमालाई साढे २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन दिएको निर्देशनको समय सीमा समेत पार भइसकेको छ । यहाँ दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ४ वटा प्रिमियममा आइपीओ निष्काशन गरेका कम्पनीहरु के कस्तो भन्ने विश्लेषण गर्ने प्रयास गरिएको छ ।
चुक्ता पुँजी
चुक्ता पुँजीका हिसाबले आइएमई लाइफ र रिलायवल नेपाल लाइफको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ पुगिसकेको छ भने यी दुवै कम्पनीलाई प्राधिकरणले तोकेको पुँजी पुर्याउन १ अर्ब रुपैयाँ मात्रै अपुग छ । ४ वटा बीमा कम्पनीहरुमध्ये सिटिजन्स लाइफले चुक्ता पुँजीको ५ प्रतिशत र रिलायवल नेपालल लाइफले चुक्ता पुँजीको १६ प्रतिशत बोनस शेयर लाभांश घोषणा गरिसकेका छन् । सिटिजस लाइफको साधारण सभाले नै सो प्रस्ताव पारित गरिसकेको छ भने रिलायवल नेपाल लाइफको साधारण सभाको लागि बुक क्लोज सम्पन्न भइसकेको छ । अर्को त्रैमासको रिपोर्ट आउँदा
सिटिजन्सको १८ करोड ७५ लाख रुपैयाँ र रिलायवलको ६४ करोड रुपैयाँ पुँजी वृद्धि भएर आउनेछ । पुँजीवृद्धि पछि पनि अझै तोकिएको पुँजी पुर्याउन दुवै बीमा कम्पनीको केही रकम अभाव नै देखिएको छ । चुक्ता पुँजीको हिसाबले सबैभन्दा कम पुँजी भने सन नेपाल लाइफ इन्स्योरेन्सको देखिएको छ । सन नेपालको चुक्ता पुँजी ३ अर्ब २० करोड रुपैयाँ मात्रै छ ।
सञ्चित कोष
४ वटै कम्पनीले प्रिमियममा आइपीओ निष्काशन गरेको हुनाले सबै कम्पनीको शेयर प्रिमियम खातामा १ अर्ब रुपैयाँ भन्दा बढी रकम जम्मा भएको देखिन्छ । सबैभन्दा बढी रिलायवल नेपाल लाइफको खातामा १ अर्ब ७५ करोडठ रुपैयाँ रकम जम्मा छ भने सिटिजन्सको १ अर्ब ५५ करोड, आइएमई लाइफको १ अर्ब ५३ करोड रुपैयाँ र सन नेपाल लाइफको १ अर्ब २६ करोड रुपैयाँ रकम जम्मा रहेको छ ।
बीमा प्राधिकरणले महाविपत्ति कोषमा केही रकम छुट्याउनुपर्ने निर्देशन जारी गरे पछि पछिल्लो समय सबै बीमा कम्पनीले यसमा समेत रकम जम्मा गर्न थालेका छन् । आईएमई लाइफले महाविपत्ति कोषमा सबैभन्दा बढी रकम १५ करोड ३२ लाख रुपैयाँ जम्मा गरेका छन् भने सन नेपाल लाइफले सबैन्दा कम १२ करोड ३५ लाख रुपैयाँ जम्मा गरेका छन् ।
कम्पनीहरुले अघिल्ला वर्षको कमाएको नाफाबाट पनि केही रकम जम्मा गरेका छन् । जगेडा कोष (रिटेन अर्निङ) को रुपमा रहेको यो कोषमा सबैभन्दा बढी रिलायवल नेपाल लाइफले १ अर्ब २३ करोड ८५ लाख रुपैयाँ जम्मा गरकाे छ भने सिटिजन्स लाइफले सबैभन्दा कम ६८ करोड ९५ लाख रुपैयाँ जम्मा गरेकाे छ ।
खुन मुनाफा, प्रति शेयर आम्दानी, पीइ रेसियो र नेटवर्थ
६ महिनामा सबैभन्दा धेरै नाफा सन नेपाल लाइफले ३२ करोड ८४ लाख रुपैयाँ गरेको छ । आइएमई लाइफले २३ करोड ४७ लाख रुपैयाँ, रिलायवल नेपाल लाइफले २३ करोड ९ लाख रुपैयाँ नाफा गर्दा सिटिजन लाइफले भने १२ करोड ३६ लाख रुपैयाँ खुद नाफा गरेको तथ्याङ्क छ ।
पुस मसान्तसम्म प्रतिसेयर आम्दानी सन नेपाल लाइफको २०.५३ रुपैयाँ, आइएमई लाइफको ११.७४ रुपैयाँ, रिलायवल नेपाल लाइफको ११.५५ रुपैयाँ र सिटिजन लाइफको ६.६ रुपैयाँ छ । यस्तै, नेटवर्थ प्रतिसेयरमा सन नेपालको १८७.०४ रुपैयाँ, सिटिजनको १८१.१३ रुपैयाँ, रिलायवल नेपालको १७९.७१ रुपैयाँ र आइएमईको १७७.२७ रुपैयाँ छ । पुस मसान्तको अन्तिम कारोबार दिन अनुसार तयार पारिएको पीइ रेसियो अनुसार सबैभन्दा कम पीइ रेसियो सन नेपाल लाइफको २८.०९ गुणा रहेको छ भने सबैभन्दा बढी सिटिजन्स लाइफको ७१.७२ गुणा रहेको छ । बढी पीइ भएको कम्पनी लगानीको लागि अनुपयुक्त मान्ने गरिन्छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार सन नेपालको सेयरमूल्य ५८६.१० रुपैयाँ छ भने सिटिजन लाइफको सेयर मूल्य ४४८.६० रुपैयाँ, रिलायवल नेपालको ४५१ रुपैयाँ र आइएमई लाइफको ५४२ रुपैयाँ रहेको छ
