बागलुङ । चन्द्र ढकाल नेतृत्वको आइएमई ग्रुपको लगानीमा बागलुङ बजारमा ‘इला कम्फोर्ट लक्जरी होटल’ सञ्चालनमा आएको छ ।
बागलुङमा सञ्चालनमा आएको इला कम्फोर्ट होटलमा काली गण्डकी कोरिडोर तथा मध्य पहाडी लोक मार्ग हुँदै गण्डकी क्षेत्र तथा बागलुङका पर्यटकीय स्थल भ्रमण गर्ने पर्यटक तथा अन्य पाहुनाहरूका लागि गुणस्तरीय सेवा सुविधा उपलब्ध हुने ग्रुपले जनाएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले शनिबार बागलुङमा आयोजित एक भव्य समारोहमा इला कम्फोर्ट होटलको सेवा सञ्चालनको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले आइएमई ग्रुपले पर्यटन पूर्वाधारका क्षेत्रमा गरेको लगानीले मुलुककै पर्यटन उद्योगमा सकारात्मक प्रभाव पारेको बताए । मन्त्री पाण्डेले नेपालको आर्थिक समृद्धिको भविष्य पर्यटनमा रहेको र यसको प्रवद्र्धन गर्न सरकार दृढ रहेको उल्लेख गरेका छन् ।
सो अवसरमा, गण्डकी प्रदेश सरकारका मन्त्री कृष्ण पाठकले आइएमई ग्रुपले मुलुकभर पर्यटन पूर्वाधार विकासमा लगानी गरेकोलेको गण्डकी प्रदेशमा थप लगानी गर्न आह्वान गरे ।
त्यस्तै, आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बागलुङमा सञ्चालनमा ल्याएको यो होटलले यस क्षेत्रको पर्यटन विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
उनले मुलुकभित्र लगानी र रोजगारीको वातावरण नहुँदा विदेशिन बाध्य भएका लाखौं नेपालीको भावनालाई समेटेर आफूले मुलुकका सातवटै प्रदेशमा होटल तथा केवलकारसहितका पर्यटकीय पूर्वाधारमा लगानी केन्द्रित गरेको बताए।
पर्यटन र जलविद्युत क्षेत्रमा भएको लगानीले अर्थतन्त्र तथा नागरिकको जीवनस्तर सुधारमा बहुआयामिक फाइदा पुर्याउने भएकोले यी क्षेत्रमा लगानी गरेको उनको भनाई थियो।
करिव ३० करोड रुपैयाँको लगानीमा निर्माण गरिएको यो होटलले बागलुङमा स्तरीय आवासको लागि नयाँ मानक स्थापित गर्ने विश्वास कम्पनीले लिएको छ ।
लगभग ४ रोपनी जग्गामा फैलिएको, इला कम्फोर्ट बागलुङमा २७ अतिथि कक्ष, दुई सुन्दर सुइटहरू र एक विशेष पेन्ट हाउस सहित ३० वटा आकर्षक ढंगले डिजाइन गरिएका कोठाहरू रहेका छन्।
इला होटल तथा रिसोर्टका प्रमुख सचिन ढकालले इला होटल्स एण्ड रिसोर्ट केवल नयाँ आतिथ्य ब्रान्ड मात्र नभएर यसले बागलुङ बसाइलाई अविस्मरणीय अनुभवहरूमा रूपान्तरण गर्ने बताएका छन् ।
पोखरा विमानस्थलबाट केवल १.५ घण्टाको दूरीमा अवस्थित, पोखरा र बागलुङ बिच प्रत्येक ३० मिनेटमा नियमित सार्वजनिक यातायात चल्ने भएकोले, होटलले आन्तरिक र अन्तर्राष्ट्रिय यात्रुहरूको लागि सुविधाजनक पहुँचमा रहेको छ ।
इला कम्फर्ट बागलुङले ब्रान्डको इला ब्राण्डको होटल विस्तार रणनीतिको पहिलो चरणको प्रतिनिधित्व गर्दै नवलपरासीको गैंडाकोटमामा इला होटल सुरु गर्ने तयारी भइरहेको र सातै प्रदेशहरूमा सेवा विस्तार गर्ने जनाएको छ ।
