Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
कर्पोरेट

८ बीमा कम्पनीले गरे लाभांश घोषणा, ७ कम्पनीका लगानीकर्ताको हात खाली, लाभांश घोषणामा जीवन भन्दा निर्जीवन अगाडि

८ बीमा कम्पनीले गरे लाभांश घोषणा, ७ कम्पनीका लगानीकर्ताको हात खाली, लाभांश घोषणामा जीवन भन्दा निर्जीवन अगाडि

८ बीमा कम्पनीले गरे लाभांश घोषणा, ७ कम्पनीका लगानीकर्ताको हात खाली, लाभांश घोषणामा जीवन भन्दा निर्जीवन अगाडि

काठमाडौं, २७ माघ। बीमा कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । अहिलेसम्म ३ वटा जीवन बीमा र ५ वटा निर्जीवन बीमा गरी ८ वटा बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् । पुँजी बजारमा जीवन बीमातर्फ १२ वटा र निर्जीवन बीमातर्फ १२ वटा गरी २४ वटा बीमा कम्पनी छन् ।

जीवन बीमा कम्पनीतर्फ सिटिजन, रिलायबल र एशियन लाइफ इन्स्योरेन्स गरी ३ वटा कम्पनीले लाभांश प्रस्ताव गरेका छन् । यस्तै, निर्जीवन बीमा कम्पनीतर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स गरी ५ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् ।

त्यस्तै जीवन बीमातर्फ नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), हिमालयन लाइफ र सानिमा रिलायन्स लाइफ गरी चार वटाले लाभांश नदिने भएका छन । निर्जीवन बीमा कम्पनीतर्फ नेको इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सानिमा जीआईसी इन्स्योरेन्स गरी तीन वटा निर्जीवन बीमा कम्पनीले आव २०७९।८० को नाफाबाट लगानीकर्तालाई कुनै लाभांश नदिने घोषणा गरिसकेका छन्। अझै जीवन बीमा तर्फ ५ वटा र निर्जीवन बीमातर्फ ४ वटा कम्पनी लाभांश घोषणा गर्न बाँकी छन् ।

बिमा कम्पनीहरुको एक्च्युरी भ्यालुएटर पर्याप्त मात्रामा नहुँदा विदेशमा जानुपर्ने बाध्यताका कारण हरेक वर्ष समयमा साधारण सभा हुन सकेको छैन ।

कम्पनी ऐन अनुसार आर्थिक वर्ष सकिएको ६ महिनाभित्र अर्थात पुस मसान्तसम्म साधारण सभा गरिसक्नुपर्ने प्रावधान भए पनि तोकिएको समयमा औंलामा गन्न सकिने कम्पनीले मात्रै साधारण सभा गरेका छन्। चालु वर्ष पुस मसान्तसम्ममा नेपाल इन्स्योरेन्सले मात्रै साधारण सभा सम्पन्न गरेको छ।

जीवन बीमा कम्पनी

गत वर्षको नाफाबाट तुलनात्मक रुपमा नयाँ लाइफ इन्स्योरेन्स कम्पनीले छिटो लाभांश घोषणा गरेको देखिएको छ। पुराना जीवन बीमा कम्पनीमध्येबाट एसियन लाइफ इन्स्यारेन्सले मात्रै लाभांश घोषणा गरेर साधारण सभाको मिति सार्वजनिक गरेको छ । लाभांश दिएका दुवै जीवन बीमा कम्पनीले चालु आवमा प्रिमियममा आईपीओ निष्काशन गरेका थिए। सार्वजनिक लेखा समितिको निर्देशनपछि बिमा प्राधिकरणले प्रिमियममा आईपीओ निष्काशन गर्ने कम्पनीलाई प्रिमियम रकम खर्च नगरिकन एउटा छुट्टै कोष बनाएर राख्न निर्देशन दिएको थियो। पछिल्लो समय बिमा कम्पनीले घोषणा गरेको लाभांश भनेको अहिलेसम्मको सञ्चित नाफाबाट दिएको हो। प्रिमियम रकमलाई लाइफ इन्स्योरेन्स कम्पनीहरुले चलाएका छैनन्।

रिलायबल नेपाल लाइफले हाल कायम चुक्तापुँजी ४ अर्ब रुपैयाँको कुल १६ दशमलव ८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ जसमा १६ प्रतिशतले हुन आउने ६४ करोड रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०।८४ प्रतिशतले हुन आउने ३ करोड ३६ लाख ८४ हजार २११ रुपैयाँ नगद लाभांश रहेको छ। कम्पनीले माघ २९ गते साधारण सभा आह्वान गरेको छ भने माघ १५ गते बुक क्लोज मिति तोकेको छ।

त्यसैगरी सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९।८० सम्मको संचित मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलब २६३२ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३२ प्रतिशत लाभांश घोषणा गरेको हो। कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७५ करोड रुपैयाँमा सो लाभांश घोषणा गरेको हो। कम्पनीले माघ १४ गते साधारण सभा आह्वान गरेको छ भने पुस २९ गते बुक क्लोज मिति तोकेको छ। पुस २८ गतेसम्म शेयर खरिद गर्ने लगानीकर्ताले मात्रै कम्पनीको बोनस खान सक्नेछन्।

त्यस्तै एसियन लाइफ इन्स्योरेन्सले ७.७५ प्रतिशत बोनस शेयर र ०.४०७८ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश गरी कुल ८ दशमलब १५७८ प्रतिशत लाभांश घोषणा गरेका छन् । कम्पनीले फागुन १८ गते साधारण सभा आह्वान गरेको छ । साधारण सभामा विशेष प्रस्ताव स्वरुप प्रस्तावित बोनस शेयर जारी गरेपछि कायम रहेको चुक्ता पुँजीको ४२ प्रतिशत अर्थात १ बराबर ०.४२ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन दिएको निर्देशन बमोजिम कम्पनीले बोनस शेयरपछि तत्काल हकप्रद शेयर निष्काशन गर्न लागेको हो । अहिले कम्पनीको चुक्ता पुँजी ३ अर्ब १५ करोड रुपैयाँ रहेको छ भने साढे ७ प्रतिशत बोनस शेयर जारी भएपछि ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ पुग्नेछ । ४२ प्रतिशत हकप्रद जारी गर्दा पनि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ८२ करोड ७७ लाख रुपैयाँ पुग्नेछ जुन ५ अर्ब चुक्ता पुँजी पुयाउन १७ करोड रुपैयाँ भन्दा बढी अपुग देखिएको छ । कम्पनीले पछिल्लो समय आक्रामक रुपमा शेयर बजारमा लगानी गर्दै आएकाे छ । नेपाल पुनर्विमा कम्पनीको संस्थापक शेयर र अप्पर तामाकोशीको लिलामी शेयरको ठूलो हिस्सा एसियन लाइफले नै हात पारेको थियो ।

निर्जीवन बीमा कम्पनी

निर्जीवन बीमातर्फ अहिलेसम्म नेपाल इन्स्योरेन्स, हिमाल एभरेष्ट इन्स्योरेन्स र नेको इन्स्योरेन्सले साधारण सभा सम्पन्न गरिसकेका छन् भने एनएलजी इन्स्यारेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सले साधारण सभा मिति घोषणा गरिसकेको छ । एनएलजी र युनाइटेड अजोड इन्स्योरेन्सको साधारण सभाको लागि बुक क्लोज समेत सम्पन्न भइसकेको छ

नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो। उक्त लाभांश पुस १३ गतेको साधारण सभाले पारित समेत गरिसकेको छ। गत आर्थिक वर्षका लागि हाल कायम चुक्ता पुँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार ३९९।७२ रुपैयाँको कुल १० प्रतिशतले हुन आउने १४ करोड ९४ लाख ७६ हजार ५३९.९७ रुपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने ७८ लाख ६७ हजार १८६.३१ रुपैयाँ बराबरको नगद लाभांश छ।

त्यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९-८० को लाभांश घोषणा गरेको छ। कम्पनी गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजार रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ८.६३ प्रतिशतले हुन आउने १९ करोड ८६ लाख २२ हजार ४०० रुपैयाँ बराबरको बोनस शेयर र ६.३७ प्रतिशतले हुन आउने १४ करोड ६६ लाख ७ हजार ७८० रुपैयाँ बराबरको नगद लाभांश (करसहित) रहेको छ।

एनएलजी इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरूलाई ५।५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२८ प्रतिशत नगद लाभांश गरी ५.७८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरूले पाउनेछन्। कम्पनीले फागुन ३ गते साधारण सभा आह्वान गरेको छ ।

त्यस्तै युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १०.८०१३ प्रतिशत लाभांश दिने भएको हो। कम्पनीको बिहीबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १०.२६१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो। उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिमा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले प्राप्त गर्नेछ। कम्पनीले चैत्र ५ गते साधारण सभा आह्वान गरेको छ ।

एलआईसी नेपालले गत मंसिर १८ गते आव २०७८।७९ को साधारण सभा सम्पन्न गरेको थियो भने सानिमा रिलायन्स इन्स्योरेन्सले आगामी माघ ११ र हिमालयन लाइफ इन्स्योरेन्सले माघ १८ आव २०७८/७९ को साधारण सभा सम्पन्न गर्दैछ। तीन वटै लाइफ इन्स्योरेन्स कम्पनीले उक्त वर्षको नाफाबाट लगानीकर्ताको हात खाली बनाएको थियो। साधारणतया एक्च्युरी भ्यालुएसन गर्नुपर्ने हुँदा यस्ता कम्पनीहरुको साधारण सभा ढिला हुने गेरको कम्पनीका अधिकारीहरु बताउँछन्।

सम्बन्धित समाचार