काठमाडौ, फागुन ३ । केही दिनअघि सार्वजनिक सूचना जारी गर्दै आइएमई ग्रुपले नेपाल पुनर्बीमा कम्पनीबाट बाहिरिने जानकारी गरायो । देशको ठूलो व्यावसायिक समूह आइएमई ग्रुप अन्तर्गतको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २० लाख कित्ता, ग्लोबल आइएमई क्यापिटलको १ लाख ८७ हजार ४३४ कित्ता, हाथवे इन्भेष्टमेन्टको ६ लाख ५० हजार कित्ता र आइएमई लिमिटेडको ७ लाख ५० हजार कित्ता गरी कुल ३५ लाख ८७ हजार ४३४ कित्ता सेयर बिक्री गरेर कम्पनीबाट बाहिरिने निर्णय सो ग्रुपले गर्यो । प्रतिकित्ता २८० रुपैयाँ तोकिएको ती कम्पनीले कुल १ अर्ब ४४ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेका हुन् ।
काठमाडौ, फागुन ३ । यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २० लाख कित्ता, प्रभु ग्रुप अन्तर्गतको प्रभु इन्स्योरेन्सले १९ लाख ७९ हजार ४२४ कित्ता, विशाल ग्रुपले २५ लाख कित्ता र नेपाल इन्स्योरेन्सले १९ लाख ७९ हजार ४२४ कित्ता सेयर बिक्रीमा राखेको छ ।
पुनर्बीमा कम्पनीहरूमा बीमा कम्पनीहरूसहित विभिन्न ठूला व्यावसायिक घरानाको लगानी छ । नेपाल रिइन्स्योरेन्स कम्पनीको सबैभन्दा ठूलो सेयरधनी सरकार हो । कम्पनीमा सरकारको ४४ प्रतिशत, निजी क्षेत्र अर्थात् बीमा कम्पनीहरूको ४० प्रतिशत र सर्वसाधारणको १६ प्रतिशत लगानी छ ।
कम्पनीको सञ्चालक समितिमा अध्यक्षसहित पाँच जना छन् । जसमा नेपाल सरकारको प्रतिनिधित्व गर्ने दुई जना, जीवन बीमा र निर्जीवन बीमा कम्पनीको प्रतिनिधित्व गर्ने एक जना र पब्लिक तथा स्वतन्त्र सञ्चालक दुई जना छन् ।
बहुमत सेयर सरकारको रहेका कारण कम्पनीमा हरेक निर्णयमा अर्थमन्त्रालयको सुझाव लिनु पर्ने बाध्यता छ । कम्पनीको अध्यक्ष छनोटदेखि प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिमा सरकार हावी हुने गरेको लगानीकर्ताहरूको गुनासो छ । साथै, कम्पनीका अन्य निर्णयमा समेत सरकारको हालीमुहाली हुने गरेकाले निजी क्षेत्रका ठूला सेयरधनी धमाधमसेयर बिक्री गरेर बाहिरिन लागेको बुझिएको छ ।
लगानीकर्ताहरू दक्ष व्यक्ति नेतृत्वमा नआउँदा कम्पनी नै समस्यामा भएको बताउँछन् । कम्पनीमा हालसम्म रमेश लम्साल, चिरायु भण्डारी र शंकर रायमाझीले नेतृत्व गरे । उनीहरू खुला प्रतिस्पर्धाबाट कम्पनीको सीईओ बनेपनि राजनीतिक पहुँचका आधारमा नेतृत्व गर्ने अवसर पाएको तर कम्पनीलाई जुन गति दिनु पर्ने हो त्यो नदेखिएको लगानीकर्ताहरू बताउँछन् ।
कम्पनीमा महत्वपूर्ण निर्णय गर्दा ठूला लगानीकर्ताहरूको कुरा सम्बोधन नहुने प्रवृति हुँदा ठूला व्यवसायिक घराना बाहिरिन बाध्य भएको एक बीमा कम्पनीका सीईओ बताउँछन् । विशाल ग्रुप, आइएमई ग्रुप र प्रभु ग्रप जस्ता ठूला लगानीकर्ताले सेयर बिक्री गर्नुलाई चासोका रुपमा लिनु पर्ने उनको भनाइ छ ।
‘सरकारले नेपाल पुनर्बीमामा एकाधिकार गर्न खोज्दा निजी क्षेत्रका संस्थापक सेयरधनीहरू सेयर बिक्री गरेर बाहिरिनु परेको हो,’ उनले भने, ‘सञ्चालक समितिमा बीमा कम्पनीको प्रतिनिधित्व पनि हुन नपाउने र लगानीको प्रतिफल पनि घटेपछि सेयर होल्ड गरेर राख्नुको औचित्य हुँदैन, सबै बीमा कम्पनीहरूले सोही कारण पनि आफ्नो सेयर बिक्री गरेर बाहिरिन खोजेका होलान्,’ उनले भने ।
साथै, बीमा कम्पनीहरू मर्ज भएर सेयर होल्डिङ धेरै भएका कारण बिक्री गर्नु परेको उनको भनाइ छ । दुई कम्पनी एक भएपछि स्वामित्व बढी भएका कारण अन्य क्षेत्रमा लगानी गर्न सेयर बिक्री गरेको हुन सक्ने तर्क पनि उनले दिए ।
नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष ईश्वरी प्रसाद अर्याल भने बीमा कम्पनीहरूलाई पुँजी वृद्धिको आवश्यकता परेका कारण सेयर बिक्री गर्न लागेको बताउँछन् । अधिकांश संस्थापक सेयरधनीहरू बीमा कम्पनीहरू रहेकाले पुँजी वृद्धिको समस्या परेपछि सेयर बिक्री गर्न लागेको उनको भनाइ छ ।
तर, पुाजी वृद्धिको आवश्यकता नै नभएका कम्पनीले पुनर्बीमामा रहेको सेयर बिक्री गरिरहेका छन् । यो जिज्ञासा अर्यालसँग राख्दा उनले भने, ‘एउटा ग्रुपले सेयर बिक्री गरे पनि के भयो र ? अर्काे कुनै संस्थागत लगानीकर्ता आउँछ नी, कुनै समयमा लगानी गरेर त्यसको फाइदा उठाएर फेरी अर्काे सेक्टरमा लगानी गर्नु स्वभाविक हो, सेयर बिक्री गर्नुपर्ने अन्य कुनै कारण छैन ।’
विशाल ग्रुपले बिक्री गरेको सेयर खरिद गरेर अर्काे संस्थागत लगानीकर्ता आउने उनको तर्क छ । पछिल्लो समय प्रतिफल घटेका कारण लगानीकर्ताहरू बाहिरिन लागेको हुन सक्ने उनले स्वीकार गरे । तर, पुँजी वृद्धिपछि कम्पनीको प्रतिफलमा वृद्धि हुँदै जाने उनको दाबी छ ।
‘कम्पनीको प्रतिफल घटेको हो, जुन अनुपातमा दिनु पर्ने हो दिन सकिएको छैन, बैंकिङदेखि अन्य क्षेत्रको पनि यस्तै हालत छ, विगतमा राम्रो नै प्रतिफल दिएको हो, अब पुँजी वृद्धि हुँदै गएपछि प्रतिफल पनि बढ्छ,’ उनले भने, ‘नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई पुँजी वृद्धि गर्न भन्यो, समस्या परेपछि सेयर बिक्री गर्न लागेका हुन् ।’
नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन निर्देशन दिएको छ । आफूहरूले किन सेयर बिक्री गर्न लागेको भनेर सोध्दा पुँजी वृद्धिका लागि भन्ने गरेको धारणा अर्यालको छ ।
‘अरुले भनेजस्तो कम्पनीमा सरकारको हालीमुहाली छैन, सिस्टममा चल्ने हो, यो कम्पनीबाट सरकारले ठूलो फाइदा लिन खोजेको पनि छैन, नेपालमै रिइन्स्योरेन्स गराएर विदेशी पुँजी भित्र्याउन खोजेको हो,’ अध्यक्ष अर्यालले भने ।
कम्पनीले नोक्सानी बेहोरेर पनि पुनर्बीमा गर्नु परेको उनको भनाइ छ । कम्पनीले नाफाभन्दा पनि सेवालाई बढी जोड दिने गरेको उनले बताए । सरकारको बहुमत सेयर भएकाले सञ्चालक समितिको अध्यक्ष पनि सरकारको नै हुने धारणा उनको छ ।
‘सीईओ छनोट कम्पनीले गर्छ, बहुमत सेयर भएकोले अध्यक्ष पाउने हो, यो संसारभरको सेयर संरचना हो, निजी क्षेत्रमा पनि यस्तै अभ्यास छ, जसको सेयर बहुमत छ, उसले नै अध्यक्ष लिन्छ,’ उनले भने, ‘विश्व बैंक, एशियाली विकास बैंकदेखि लिएर वित्तीय संस्थाहरूमा जसको सेयर बढी छ, त्यो अध्यक्ष हुनु स्वभाविक हो । तर, कम्पनी कसरी सञ्चालन गर्छ भन्ने विषय महत्वपूर्ण कुरा हो, कम्पनी सञ्चालनमा सरकारको कुनै हस्तक्षेप छैन ।’
तर, बीमा कम्पनीहरू भने नेपाल रिमा सरकारी पारा देखिएको बताउँछन् । बोर्डले गर्नु पर्ने काम र महत्वपूर्ण निर्णयमा पनि सरकारको जवाफ खोज्दा समय घर्किने तर काम नहुने प्रवृति नेपालमा रिमा रहेको धारणा बीम कम्पनीहरूको छ ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल खुला अर्थतन्त्रमा बहुमत सेयर भएकै आधारमा सरकारले हस्तक्षेप गर्न नहुने धारणा राख्छन् । सञ्चालक समितिमा सबै सेयरधनीहरूलाई मिलाएर लैजानु पर्ने उनको भनाइ छ ।
‘कम्पनीमा सरकारको लगानी ४४ प्रतिशत छ, सरकारले आफ्नो मान्छे पठाउँछ । तर, खुला अर्थतन्त्रमा सरकारले हस्तक्षेप गर्न मिल्दैन, सेयर बिक्री गर्न ऐन कानुनले रोक्दैन तर सबैले किन सेयर बिक्री गर्न लागे भन्ने विषय हाम्रो पनि चासोको विषय हो,’ उनले भने ।
लगानीकर्ताले उचित प्रतिफल नदेखेर पनि सेयर बिक्री गरेको हुन सक्ने बुझाइ उनको छ । कम्पनीले हालसम्म तीन आर्थिक वर्षमा मात्रै लाभांश वितरण गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा १९ प्रतिशत, आर्थिक वर्ष २०७७/७८ मा ५.२६ प्रतिशत र आर्थिक वर्ष २०७८/७९ मा ५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
