काठमाडौँ, फाल्गुण ६ । खराब कर्जा नउठ्दा लघुवित्त वित्तीय संस्थाको वित्तीय अवस्था विग्रदै गएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सबैजसो लघुवित्तको नाफा उच्च दरमा घटेको छ भने एक दर्जन बढी लघुवित्त घाटामा गएका छन्।
दोस्रो त्रैमासमा वित्तीय विवरण सार्वजनिक गरेका ५५ लघुवित्त वित्तीय संस्थामा ४६ वटा लघुवित्तले नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेका छन्। ९ लघुवित्तले मात्रै नाफामा सुधार गरेका छन्।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा लघुवित्त कम्पनीहरुको नाफा औसतमा ४८.८४ प्रतिशतले घटेको देखिन्छ। १४ वटा लघुवित्त वित्तीय संस्था घाटामा नै पुगेका छन्।
लघुवित्त कम्पनीहरुको नाफा घट्नुकाे मुख्य कारण कर्जा असुलीमा देखिएको समस्या नै हो। कम्पनीहरुको कर्जा असुलीमा समस्या आउदा खराब कर्जा बढ्दै गएको छ जसले गर्दा लघुवित्तहरुको नाफा घट्दो क्रममा छ।
- सबैभन्दा धेरै कमाउने साना किसान लघुवित्त
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा साना किसान लघुवित्तले सबैभन्दा धेरै ४४ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ। लघुवित्तले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १.७३ प्रतिशतले नाफा बढाएको हो।
छिमेक लघुवित्तले ४३ करोड रुपैयाँ नाफा कमाएको छ। गत वर्षको तुलनामा उसको नाफा २१ प्रतिशतले घटेको छ। जिवन विकास लघुवित्तले ६ महिनामा १७ करोड नाफा कमाएको छ भने डिप्रोक्स लघुवित्तले १२ करोड र नेश्नल माइक्रोफाइनान्सले १० करोड नाफा कमाएको छ।
अन्य लघुवित्तको भने नाफा १० करोड रुपैयाँभन्दा कम छ।
- १४ लघुवित्त घाटामा
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५५ लघुवित्तमध्ये १४ वटा लघुवित्त घाटामा देखिएका छन्। र्सिजनसिल लघुवित्त सबैभन्दा धेरै १४ करोड रुपैयाँले घाटामा देखिएको छ भने एनएमबि र अभियान लघुवित्त ६ करोड रुपैयाँले घाटामा छन्।
किसान लघुवित्त ५ करोड रुपैयाँले घाटामा छ भने सामुदायिक र आशा लघुवित्त ३ करोड रुपैयाँले घाटामा छन्।

- खराब कर्जा बढ्दा वित्तीय विवरण बिग्रियो
लघुवित्त कम्पनीहरुको कर्जा नउठ्दा खराब कर्जा बढेको छ जसले गर्दा उनीहरुको वित्तीय विवरण खराब देखिएको छ।
लघुवित्त कम्पनीहरुको खराब कर्जा १८ प्रतिशतसम्म पुगेको छ। जसले गर्दा लघुवित्त कम्पनीहरुको नाफा उच्च दरमा घटेको हो। दोस्रो त्रैमाससम्ममा सिर्जनसिल लघुवित्तको खराब कर्जा सबैभन्दा धेरै १८.१४ प्रतिशत पुगेको छ भने आत्मनिर्भर लघुवित्तको १५ प्रतिशत सामुदायिक लघुवित्तको १४ प्रतिशत, एनआइसी एशिया लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको १३ प्रतिशत छ।
लघुवित्त कम्पनीहरुमा सपोर्ट लघुवित्तको खराब कर्जा सबैभन्दा कम १.५४ प्रतिशत छ भने आरएसडिसी लघुवित्तको १.८२ प्रतिशत र साना किसान लघुवित्तको २ प्रतिशत छ।

