Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
कर्पोरेट

कमाएको सबै बाँड्ने कम्पनीभन्दा भविष्यको लागि राख्ने कम्पनीमा लगानीकर्ताको आकर्षण, रिजर्भ बलियो हुने कम्पनीको शेयरमूल्य यसकारण बढ्छ

कमाएको सबै बाँड्ने कम्पनीभन्दा भविष्यको लागि राख्ने कम्पनीमा लगानीकर्ताको आकर्षण, रिजर्भ बलियो हुने कम्पनीको शेयरमूल्य यसकारण बढ्छ

कमाएको सबै बाँड्ने कम्पनीभन्दा भविष्यको लागि राख्ने कम्पनीमा लगानीकर्ताको आकर्षण, रिजर्भ बलियो हुने कम्पनीको शेयरमूल्य यसकारण बढ्छ

काठमाडौं, १२  फागुन । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुमा चुक्ता पूँजीभन्दा जगेडा कोष बढी हुने कम्पनीहरुको शेयरमूल्य सबैभन्दा धेरै देखिएको छ। चुक्ता पूँजीको तुलनामा जगेडा कोष धेरै हुनु कम्पनीको लागि राम्रो मानिन्छ। यसले गर्दा यस्ता कम्पनीमा लगानीकर्ताको आकर्षण बढी देखिन्छ।

कमाएको सबै शेयरधनीलाई बाँड्ने कम्पनी भन्दा पनि भविष्यको लागि जोगाएर राख्ने कम्पनीहरुको शेयरमा लगानीकर्ताको आकर्षण पनि उच्च हुने गरेको तथ्याँकले देखाउछ। यस्ता कम्पनीहरुको शेयरमूल्य तुलनात्मक रुपमा उच्च हुन्छ। लगानीकर्ताले यस्ता कम्पनीमा दीर्घकालिन लगानी गर्ने गर्छन्।

कम्पनीले चुक्ता पूँजी भन्दा धेरै रिजर्भ बढाउदा त्यसले कम्पनीको नेटवर्थ बढाउने र त्यस्ता कम्पनी दीर्घकालिन लगानीको लागि उपयुक्त हुने लगानीकर्ता सुवासचन्द्र ढुङ्गाना बताउछन्। "कम्पनीले कमाएको सबै नबाँडी केहि प्रतिशत रिजर्भमा राख्दा उसको नेटवर्थ बढ्दै जान्छ" उनले भने "यस्ता कम्पनीमा दीर्घकालिन लगानीको लागि उपयुक्त हुन्छ। यसले कम्पनीको नेटवर्थ बढाउने हुँदा लगानीकर्ताको आकर्षण बढी हुन्छ।"

अन्य देशहरुमा पनि पूँजीको तुलनामा रिजर्भ बलियो भएका कम्पनीहरुको प्रस्तुति राम्रो देखिन्छ। भारतको एमआरएफ लिमिटिडको रिजर्भ चुक्ता पूँजीको तुलनामा कयौ गुणा धेरै छ। जुन कम्पनीको शेयरमूल्य अहिले सबैभन्दा महँगो छ। कम्पनीको चुक्ता पूँजी ४ करोड २४ लाख रुपैयाँ मात्रै छ भने जगेडा कोषमा १ खर्ब ४५ अर्ब ४ करोड ६३ अर्ब रुपैयाँ सञ्चित छ।

यस्तै रिलायन्स इन्डष्ट्रिजको पनि भारतीय कम्पनीहरुमा सबैभन्दा बढी रिजर्भ छ। उसको चुक्ता पूँजी ६७ अर्ब ६५ करोड रुपैयाँ छ भने रिजर्भ ७० खर्ब ८४ अर्ब ६० करोड रुपैयाँ रहेको छ।

न्युयोर्क स्टक एक्सचेञ्जमा सूचीकृत वारेन बफेटको हाथवेले हालसम्म शेयरधनीलाई लाभांश दिएको छैन। उसले कमाएको सबै रिजर्भमा नै राखेको छ। उसको रिजर्भ पूँजीको तुलनामा कयौ गुणा धेरै छ। उसको शेयरमूल्य अहिले न्युयोर्क स्टक एक्चेञ्जमा सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा धेरै छ।

यी केहि उदाहारण मात्रै हुन्। रिजर्ब बलियो हुने सबै कम्पनीमा लगानीकर्ताको आकर्षण धेरै छ। जसले गर्दा दीर्घकालमा त्यस्ता कम्पनीहरुको शेयरमूल्य बढ्दै गएको देखिन्छ।

"रिजर्भ धेरै भएका कम्पनीहरुले कुनै वर्ष नाफा नहुँदा पनि लगानीकर्तालाई रिजर्भबाट लाभांश दिन सक्छन जसले गर्दा कम्पनीको लाभांश दर व्यवस्थापन गर्न सहज हुन्छ," ढुङ्गानाले भने "रिजर्भ धेरै हुँदा कम्पनि बलियो हुन्छ, यसले लगानीकर्ताहरुको आकर्षण पनि धेरै हुन्छ।"

नेपालको शेयर बजारमा पनि केहि यस्ता कम्पनी छन् जसकाे जगेडा कोष चुक्ता पूँजीको तुलनामा कयौँ गुणा धेरै छ। नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत यस्ता कम्पनीहरुमा लगानीकर्ताको आकर्षण धेरै देखिएको छ। अहिले सूचीकृत कम्पनीमा ३० वटा कम्पनीको पूँजीभन्दा रिजर्भ धेरै छ। जसमध्ये अधिकाँश कम्पनीको शेयरमूल्य तुलनात्मक रुपमा धेरै छ।

लगानीकर्ताले सर्ट टर्ममा कमजोर कम्पनी रोजेपनि दीर्घकालको लागि भने नेटवर्थ बलियो भएर र जगेडा राम्रो भएका कम्पनीहरु नै रोज्ने गरेको तथ्याँले देखाउछ। कमाएको सबै पैसा लगानीकर्तामा बाँड्ने अर्थात बोनस दिएर पूँजी मात्रै बढाउने कम्पनीमा भन्दा भविष्यका लागि जोगाएर राख्ने कम्पनीमा लगानीकर्ताको आकर्षण बढी हुने गरेको देखिएको छ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुमा पनि युनिलिभर नेपालको शेयरमूल्य सबैभन्दा धेरै छ। उसको पनि पूँजीको तुलनामा रिजर्भ कयौ धेरै छ। उसको चुक्ता पूँजी ९ करोड २१ लाख रुपैयाँ छ भने जगेडा कोषमा ३ अर्ब ७७ करोड रुपैयाँ छ। कम्पनीको रिजर्भ चुक्ता पूँजीको तुलनामा ४१०२ प्रतिशतले धेरै छ। यसले गर्दा नै नेप्सेमा कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै छ। बिहीबारसम्ममा उसको शेयरमूल्य प्रतिकित्ता ३९ हजार ५०० रुपैयाँ छ।

यस्तै कोका कोला उत्पादन गर्ने दुबै कम्पनीको पनि पूँजीभन्दा रिजर्भ धेरै छ। यसले गर्दा यी दुबै कम्पनीमा लगानीकर्ताको आकर्षण उच्च छ। बोटलर्स नेपाल तराईको चुक्ता पूँजी १ करोड २० लाख रुपैयाँ छ भने रिजर्भ १२ करोड १० लाख रुपैयाँ छ। यस्तै बोटलर्स नेपाल (बालाजु) को चुक्ता पूँजी १ करोड २ लाख रुपैयाँ छ। उसको रिजर्भमा १९ करोड ४८ लाख रुपैयाँ छ। यी दुबै कम्पनीको शेयरमूल्य १३ हजार रुपैयाँ माथि छ।

यस्तै नेपाल ल्युव वेल, साल्ट ट्रेडिङ, नागरिक लगानी कोष, नेपाल दुरसञ्चार कम्पनी लगायतका कम्पनीहरुले पनि पूँजीभन्दा जगेडा धेरै छ। यी कम्पनीहरुको पनि शेयरमूल्य तुलनात्मक रुपमा उच्च छ।

दोस्रो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरुमा ६ वटा बैंकको जगेडा कोष चुक्ता पुँजीभन्दा धेरै छ भने १३ लघुवित्त कम्पनीको जगेडा कोष पूँजीभन्दा धेरै छ।

  • यी हुन् नेप्सेमा सूचीकृत भएका ३० कम्पनीहरु जसको चुक्ता पूँजीभन्दा जगेडा कोष धेरै छः

  • रिजर्भ के हो?

रिजर्भ अर्थात जगेडा कोष भनेको भविष्यमा गर्ने व्यवसायको लागि छुट्याइएको रकम हो। कम्पनीले कमाएको नाफालाई शेयरधनीमा नबाँडी भविष्यका लागि सञ्चित गरेर राखिएको रकम नै रिजर्भ हो।

यस्तो रिजर्भ कम्पनीको व्यवसाय विस्तारको लागि पनि प्रयोग गर्न सकिन्छ भने आगामी वर्षहरुमा शेयरधनीलाई प्रतिफल समेत यसै रिजर्भबाट दिन सकिन्छ।

यसले कम्पनीको वित्तीय अवस्था कस्तो छ भनेर देखाउछ। रिजर्भ धेरै हुने कम्पनी वित्तीय रुपमा बलियो हुन्छन भने रिजर्भ कम हुने कम्पनी वित्तीय रुपमा कमजोर हुन्छन। रिजर्भ नकारात्मक हुने कम्पनी सञ्चित नोक्सानीमा रहेको बुझिन्छ।

  • चुक्ता पूँजी के हो?

चुक्ता पुँजी भनेको कम्पनीले शेयरधनीहरूबाट शेयरको सट्टामा प्राप्त गरेको रकम हो। चुक्ता पुँजी सम्बन्धित कम्पनीका शेयरधनीहरुले शेयर लिएबापत तिरेको रकम हो। कम्पनीले पूँजी बढाउदा शेयर सँख्या पनि बढ्ने गर्छ। शेयर संख्या बढ्दा कम्पनीको दायित्व समेत बढेर जान्छ।

  • कम्पनीले किन बढाउछन जगेडा कोष?

कम्पनीले भविष्यको जोखिम व्यवस्थापनको लागि पनि जगेडा कोष बलियो बनाउने गर्छन। भविष्यमा व्यवसाय विस्तार गर्नको लागि कम्पनीहरुले कमाएको नाफालाई शेयरधनीमा नबाँडी जगेडा कोषमा राख्ने गर्छन। जगेडा कोषमा रकम राख्दा यसबाट भविष्यमा ब्यवसाय विस्तार गर्न सहज हुन्छ। यो कम्पनीले कमाएर राखेको रकम भएकोले त्यसमा अतिरिक्त शुल्क तिर्नुपर्दैन। यसले गर्दा व्यवसाय विस्तार गर्नुपरेको खण्डमा समेत कम्पनीलाई थप दायित्व सिर्जना हुँदैन।

यस्तै भविष्यमा हुने घाटापूर्तिको लागि मसेत कम्पनीहरुले जगेडा कोष बलियो बनाउने गर्छन। कुनै वर्ष घाटा हुँदा शेयरधनीहरुलाई जगेडा कोषबाट समेत लाभांश वितरण गर्न सक्छन जसले कम्पनीकाे लाभांश दरलाई व्यवस्थापन गर्न सहयोग पुर्याउछ।

सम्बन्धित समाचार