काठमाडौं, १४ फागुन । सरकारले निर्यातमा अनुदान दिन थालेपछि सिमेन्टको भारत निर्यात लगातार बढ्न थालेको छ । नेपालले चालु आवको माघ मसान्तसम्म २ अर्ब ६ करोड ८ लाख ५१ हजार रुपैयाँ क्लिंकर र सिमेन्ट निर्यात गरेकाे छ । नेपालले १७ लाख ८८ हजार टन पोर्टल्यान्ड सिमेन्ट र ३ लाख ५९ हजार टन क्लिकर गरेर कुल २१ लाख ४७ हजार टन सिमेन्ट क्लिंकर निर्यात गरेको हो ।
सिमेन्ट कम्पनीहरुमध्ये अहिलेसम्म शिवम, घोराही र सोनापुर गरी तीन वटा कम्पनी नेप्सेमा सूचीकृत छन् भने मारुती र शौर्य सिमेन्ट आईपीओ निष्काशनको लागि सेबोनको पाइपलाइनमा छन्।
चालु आथिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार नेप्सेमा सूचीकृत सिमेन्ट कम्पनीहरुमा शिवम (SHIVM) सिमेन्ट मात्रै नाफामा देखिएका छन् भने घोराही सिमेन्ट र सोनापुर मिनरल्स घाटामा देखिएका छन् । नेप्सेमा उत्पादनमूलक समूहमा सूचीकृत सबै सिमेन्ट कम्पनीहरुले प्रिमियम मूल्यमै आईपीओ निष्काशन गरेका हुन । शिवम सिमेन्टले कोभिड अगाडि नै आईपीओ निष्काशन गरिसकेको थियो भने घोराही र सोनापुर मिनरल्सले हालै मात्रै आईपीओ निष्काशन गरेको हो । गत वर्षको नाफाबाट भने शिवम सिमेन्टले १४ दशमलब २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलब ७५ प्रतिशत नगद लाभांश दिएको थियो भने र घोराही सिमेन्टले १५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
चालु आवको दोस्रो त्रैमाससम्ममा घोराही (GCIL) सिमेन्टले ४१ करोड ८४ लाख रुपैयाँ र सोनापुर मिनरल्सले १४ करोड ७९ लाख रुपैयाँ घाटा व्यहोरेको रिपोर्ट सार्वजनिक गरेका छन् । यता, शिवम् सिमेन्ट्सले भने १४ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। सञ्चालन आम्दानीमा गिरावट आउँदा त्यसको प्रभाव कम्पनीको नाफामा परेको हो । अर्थतन्त्र मन्दीमा जाँदा निर्माणका कार्य सुस्त भएपछि सिमेन्ट कम्पनीहरुको नाफामा समेत गिरावट आएको हो ।
तीन वटा सिमेन्ट कम्पनीमध्ये शिवम् सिमेन्ट्सको चुक्ता पुँजी धेरै छ । शिवमको चुक्ता पुँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँकाे छ भने सोनापुर (SONA)को ३ अर्ब ७ करोड ५० लाख र घोराहीको ४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ छ । यता, सेयर प्रिमियममा घोराहीको २ अर्ब ६५ करोड ८४ लाख रुपैयाँ रहेको छ । सोनापुर र शिवम् सिमेन्ट्सको क्रमशः १ अर्ब ६५ करोड २३ लाख र ९५ करोड ६२ लाख रुपैयाँ देखिएको छ ।
सञ्चालन आम्दानी शिवम् सिमेन्ट्सको ३ अर्ब ५१ करोड, सोनापुरको ७० करोड ५६ लाख र घोराहीको १ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । बिक्री लागत पनि क्रमशः ३ अर्ब १ करोड, ६१ करोड ५ लाख र १ अर्ब ५१ करोड रुपैयाँ देखिएको छ ।
शिवमको रिजर्भमा ४ अर्ब ४१ करोड रुपैयाँ रहेको छ भने प्रति शेयर आम्दानी ५ रुपैयाँ ९० पैसा छ भने बिहीबारको बजार मूल्य अनुसार पीइ रेसियो ७९.१५ गुणा र कम्पनीको शेयरमा प्रतिफल (आरओइ) ३ रुपैयाँ १५ पैसा रहेको छ । यता घोराही सिमेन्ट दोस्रो त्रैमाससम्ममा नोक्सानीमा देखिए पनि कम्पनीको रिजर्भमा ५ अर्ब ७३ करोड रुपैयाँ रहेको छ । सोनापुर सिमेन्टको पनि रिजर्भमा २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।
दोस्रो त्रैमाससम्म आइपुग्दा शिवम् सिमेन्टको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ९१ पैसा देखिएको छ । सोनापुर र घोराहीको भने उक्त आम्दानी ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ घोराहीको सबैभन्दा धेरै २२५ रुपैयाँ ४५ पैसा बराबर रहेको छ । शिवम सिमेन्टको नेटवर्थ १८७ रुपैयाँ ६९ पैसा छ भने सोनापुरको प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ९८ पैसा छ ।
