काठमाडौं, असार ६ । जेठ एक महिनामा मात्र विभिन्न भन्सार नाका हुँदै ३ हजार ६३३ युनिट विद्युतीय सवारीसाधन (ईभी) नेपाल भित्रिएका छन्। चालू आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठसम्म) १३ हजार ४९२ युनिट कार जीप र भ्यान नेपाल भित्रिएका हुन्।
भन्सार विभागको तथ्यांकअनुसार ११ महिनाको अवधिमा नेपालमा ३१ अर्ब ५५ करोड १५ लाख रुपैयाँ बराबरको १३ हजार ४९२ युनिट ईभी भित्रिएको हो। उक्त आयातबाट सरकारले १९ अर्ब ५७ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
गत आर्थिक वर्षको तुलनामा यस वर्ष २ हजार २६ युनिट बढी ईभी नेपाल भित्रिएको छ। गत आर्थिक वर्ष २०८०÷८१ को ११ महिनाको अवधि (साउनदेखि जेठसम्म) २९ अर्ब रुपैयाँ बराबरको ११ हजार ४६६ युनिट ईभी नेपाल भित्रिएको थियो। उक्त आयातबाट सरकारले १३ अर्ब ६ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको थियो।
कुन सेग्मेन्टका कति ईभी आयात भए?
११ महिनाको अवधिमा सबैभन्दा धेरै ईभी चीनबाट आयात भएका छन्। विभागको तथ्यांक अनुसार यस अवधिमा ५० किलोवाटदेखि १०० किलोवाट मोटर क्षमताका ७ हजार ३५४ युनिट ईभी आयात भएको छ भने ५० किलोवाटसम्मका ४ हजार ७२८ युनिट आयात भएको छ।
यसैगरी, १०१ देखि २०० किलोवाटसम्म १ हजार ३५४ युनिट आयात भएको छ। २०१ देखि ३०० किलोवाटसम्मका ४१ युनिट र ३०० माथिका दुईवटा गाडी आयात भएका छन्।
कमर्सियल गाडीको आयात पनि बढ्दो
गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा एक हजार ८४६ युनिट बढी कमर्सियल ईभी गाडी भित्रिएको भन्सार विभागको तथ्यांकले देखाएको छ। ११ महिनाको अवधिमा ९ अर्ब ४८ करोड रुपैयाँ बराबरको ३ हजार १३२ युनिट कमर्सियल ईभीको आयत भएको हो। उक्त आयातबाट सरकारले २ अर्ब १० करोड ७८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
प्लगइन हाइव्रिड गाडीको आयात
चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा प्लगइन हाइब्रिड गाडीको आयात बढेको छ। गत आर्थिक वर्षको तुलनामा यस वर्ष प्लगइन हाइब्रिड सवारीसाधनको आयात ४३ युनिटले बढेको हो।
चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा ३० करोड ८३ लाख रुपैयाँ बराबरको ७६ युनिट प्लगइन हाइब्रिड गाडी नेपाल भित्रिएका छन्। प्लगइन हाइब्रिडको आयातबाट सरकारले ७५ करोड ४६ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा भने १५ करोड ९६ लाख रुपैयाँ बराबरको ३३ युनिट प्लगइन हाइब्रिड गाडी नेपाल भित्रिएका थिए। उक्त आयातबाट सरकारले ३७ करोड १० लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
