काठमाडौं। चिनियाँ कम्पनी लीपमोटर बी–१० को नेपाली बजारमा स्निक प्रिभ्यू कार्यक्रम सम्पन्न भएको छ। लीपमोटरको आधिकारीक बिक्रेता साँग्रिला मोटर्सले बुधबार एक कार्यक्रमकाबीच मिडिया प्रतिनिधि र अटोप्रेमीलाई नयाँ इलेक्ट्रिक गाडीको पहिलो झलक देखाएको हो।
चीनमा गत अप्रिलमा सार्वजनिक भएको बी–१० युरोपमा पनि बिक्री सुरु हुने मोडल हो। युरोपियन अटोमोबाइल जाइन्ट स्टेलान्टीस ग्रुपको लगानी रहेको लीपमोटरले आगामी महिना युरोपमा बिक्री सुरु गर्दैछ।
लिपमोटर बी–१० मा ६७.१ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ। यसमा १६० किलोवाट क्षमताको मोटरले पावर र स्पीडबीच सन्तुलन ल्याउने उल्लेख गरिएको छ।
यो गाडीले युरोपेली एनक्यापक सुरक्षा परीक्षणमा फाइभ स्टार रेटिङ प्राप्त गरेको छ। सहरी क्षेत्रमा नै ४६० किलोमिटर रेन्ज दिने दावी गरिएको बी–१० एसयूभीमा एडास लेभल टु फिचर पाउन सकिन्छ। लीपमोटर बी–१० मा भएको ब्याट्रीलाई ११ किलोवाट क्षमताको एसी चार्जर र १६८ किलोवाटसम्मको डिसी फास्ट चार्जरको प्रयोगबाट चार्ज गर्न सकिन्छ।
यसको लम्बाइ ४५१५ एमएम, चौडाइ १८८५ एमएम र उचाइ १६५५ एमएम छ। यसमा २७३५ एमएम लामो ह्वीलवेस छ। अहिले कम्पनीले गाडीको डिटेल सार्वजनिक गरेपनि मूल्य भने घोषणा गरेको छैन। आगामी साता आयोजना हुने नाइमा मोविलिटी एक्स्पोमा नै यसको मूल्य घोषणा हुने बताइएको छ।
गोल्छा अर्गनाइजेसनअन्तर्गत रहेको सांग्रीला मोटर्सले प्युजो, सिट्रोन र लिपमोटर जस्ता ब्रान्डमार्फत नेपाली बजारमा वातावरणमैत्री र स्मार्ट सवारी साधनको विस्तार गर्दै आएको छ।
