काठमाडौँ - नेपालका लागि हुन्डाई सवारी साधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले फेस्टिभ डिलाइट २०८१ बम्पर अफरअन्तर्गतको बम्पर उपहार विजेताको घोषणा गरेको छ। बम्पर उपहार अन्तर्गतको नयाँ हुन्डाई भेन्यू १.२ गाडी कुबेरा कन्स्ट्रक्सनलाई प्रदान गरिएको छ।
यो अफर नेपालीहरूको सबैभन्दा ठुलो चाड दशैँ-तिहारलाई लक्षित गर्दै २०८१ साउन ६ गते (२२ अगस्ट २०२४)देखि कार्तिक २२ गते (८ नोभेम्बर २०२४) सम्म सञ्चालन गरिएको थियो।
अफरअन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट रु. १ लाखसम्मको स्क्र्याच कार्ड उपहार, एक वर्षको सडक कर, एक वर्षको कम्प्रिहेन्सिभ बिमा र पुरानो गाडी साटेर नयाँ लिँदा एक्सचेन्ज बोनसजस्ता विभिन्न लाभहरू प्राप्त गर्न सकेका थिए।
यो योजना देशभरि व्यापक रूपमा रुचाइएको थियो र हुन्डाई नेपालको अहिलेसम्मकै सबैभन्दा सफल चाडपर्व विशेष अफरमध्ये एक बनेको कम्पनीले जनाएको छ।
बम्पर उपहार विजेताको घोषणा २०८२ साउन १५ गते (३१ जुलाई २०२५) मा हुन्डाई नेपालको आधिकारिक फेसबुक पेजमार्फत गरिएको छ ।
विजेता छनोट प्रक्रिया हुन्डाईका प्रतिनिधि र कन्ज्युमर आई नेपालकी अध्यक्ष विमला खनालको उपस्थितिमा सम्पन्न भएको थियो। लक्ष्मी इन्टरकन्टिनेन्टलले विजेता कुबेरा कन्स्ट्रक्सन प्रालिलाई बधाई ज्ञापन गर्दै अफरमा सहभागी सबै ग्राहकप्रति आभार व्यक्त गरेको छ।
कम्पनीले आगामी दिनमा पनि यस्तै ग्राहकमैत्री योजनाहरू ल्याइरहने प्रतिबद्धता जनाएको छ।
