काठमाडौं– ट्रायम्फ नेपालले ‘ट्रायम्फ लिगेसी राइड : घान्द्रुक एडिसन’ को चौथो संस्करण कात्तिक २६ देखि २८ गतेसम्म सफलतापूर्वक सम्पन्न गरेको छ ।
ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आयोजना गरेको यस र्यालीमा ३० जना ट्रायम्फ राइडरहरू सहभागी भएका थिए ।
राइड बुटवलको कालिकानगर–१० मा रहेको ट्रायम्फ शोरूमबाट सुरु भयो । बिहान इन्जिनको गडगडाहटसँगै राइडरहरू घान्द्रुकतर्फको तीनदिने यात्रामा प्रस्थान गरे ।
पहिलो दिन दोबन र पीपलडाँडा हुँदै पाल्पा पुगेर वालिङमा लन्च ब्रेक लिएपछि साँझ घान्द्रुक रिसोर्टमा विश्राम गरियो । गुरुङ समुदायको परम्परागत स्वागत, बोनफायर र बीबीक्यु कार्यक्रमले हिमाली वातावरणमा रमाइलो साँझ बित्यो ।
दोस्रो दिन बिहान मर्निङ वाक र सांस्कृतिक पोशाकमा फोटोसेसनपछि करिब ४५ किमि यात्रा गर्दै साँझ बिङ्गो तथा मनोरञ्जनात्मक कार्यक्रमहरूले राइडरहरूबीचको मित्रता थप गाढा बनायो ।
अन्तिम दिन धम्पुसको अष्ट्रेलियन बेस क्याम्प पुगेर अन्नपूर्ण र माछापुच्छ्रे हिमालको मनोरम दृश्य अवलोकन गरियो । यस यात्राले नेपालको प्राकृतिक तथा सांस्कृतिक सौन्दर्यको अनुभवसँगै आन्तरिक पर्यटन र मोटरसाइकल संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्यायो ।
हंसराज हुलासचन्द एण्ड कम्पनीले आगामी दिनमा पनि यस्ता राइडहरू आयोजना गरी आन्तरिक पर्यटन र मोटरसाइकल संस्कृतिको विकासमा सहयोग पुर्याउने योजना बनाएको छ ।
