काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ३ अर्ब २२ करोड ४१ लाख २५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब १६ करोड ७६ लाख १४ हजार रुपैयाँ संकलन भएको थियो।
महानगरले गत आवका लागि १२ अर्ब ९० करोड ६३ लाखको राजस्व लक्ष्य राखेकोमा चालु आवका लागि १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ लक्ष्य निर्धारण गरेको राजस्व विभाग प्रमुख दीपक अधिकारीले जानकारी दिए।
चालु आवको पहिलो चार महिनामा आन्तरिक राजस्वतर्फ १ अर्ब ९६ करोड ८१ लाख ७५ हजार संकलन भएको छ, जुन गत वर्षको सोही अवधिको १ अर्ब ९९ करोड २ लाखभन्दा केही कम हो। आन्तरिक राजस्वमा आएको कमीको मुख्य कारण सम्पत्ति करमा भएको गिरावट रहेको अधिकारीले बताए।
गत वर्ष पहिलो चौमासिकमा ५० करोड ३१ लाख सम्पत्ति कर उठेकोमा यस वर्ष सोही अवधिमा ४२ करोड ७६ लाख ५४ हजार मात्र संकलन भएको छ। उनले भने, “गत वर्ष मालपोत कार्यालयले तोकेको नयाँ दरमा सम्पत्ति कर लिने निर्णय गरेका थियौं। करदाताहरूको गुनासोपछि २०८१ असोजमा बसेको कार्यपालिका बैठकले पुरानै दर कायम गर्ने निर्णय गर्यो। समायोजन गर्दा यस वर्ष सम्पत्ति कर घटेको हो।”
यद्यपि, बहाल कर र व्यवसाय करमा भने सुधार देखिएको छ।
- गत वर्ष यस अवधिमा ९४ करोड ८५ लाख बहाल कर उठेकोमा यस वर्ष १ अर्ब २ करोड ९२ लाख ९७ हजार संकलन भएको छ।
- व्यवसाय करतर्फ गत वर्ष २२ करोड ८७ लाख उठेकोमा यस वर्ष २३ करोड ३२ लाख ३६ हजार असुली भएको छ।
महानगरले चालु आवको बाँकी महिनामा लक्ष्य भेट्टाउन आन्तरिक राजस्व संकलनलाई थप प्रभावकारी बनाउने योजना बनाएको जनाएको छ।
