Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

औद्योगिक विकास तीव्र बनाउन एकद्वार प्रणाली आवश्यक: अध्यक्ष ढकाल

औद्योगिक विकास तीव्र बनाउन एकद्वार प्रणाली आवश्यक: अध्यक्ष ढकाल

अर्थ प्लस
औद्योगिक विकास तीव्र बनाउन एकद्वार प्रणाली आवश्यक: अध्यक्ष ढकाल

काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक क्षेत्रको विकासका लागि एकद्वार प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

‘औद्योगिक वातावरण सुधार : दिगो अर्थतन्त्रको आधार’ नारासहित मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको ११औँ राष्ट्रिय उद्योग दिवस कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले एकै प्रकृतिका कामका लागि पनि विभिन्न सरकारी निकायहरूले झन्झटिलो प्रक्रिया बनाएको कारण उद्योगी–व्यवसायीले अनावश्यक दुःख पाएको बताए।

उनले भने, “हामीकहाँ एकै खालका काम गर्ने सरकारी संरचना अत्यधिक छन्। व्यवसायिक वातावरणलाई सहज र सरल बनाउनुपर्नेमा झन्‍ै जटिलता बढ्दै गएको छ। यस्तो अवस्थामा एकद्वार प्रणालीलाई साँच्चै प्रभावकारी बनाएर अनावश्यक संरचनाहरू घटाउँदै लैजानुपर्छ।”

अध्यक्ष ढकालले गत भदौ २३–२४ मा भएको आन्दोलनपछि देशको आर्थिक स्थिति थप जटिल बनेको उल्लेख गर्दै लगानी र लगानीकर्ताको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए। पछिल्लो समय महासंघको पहलमा मन्त्रालयले गरेका नीतिगत सुधारहरूलाई सकारात्मक मूल्यांकन गर्दै उनले ती नीतिहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिए।

नेपालको निर्यात व्यापार सन्तोषजनक नरहेको अवस्थामा निर्यातमा दिइँदै आएको नगद अनुदानलाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ। “नगद अनुदान स्थगनको निर्णयले लगानी, निर्यात र रोजगारीमा गम्भीर असर पर्छ। अहिले आर्थिक संकट छ भने यसको हिसाब राखौँ र पछि भुक्तानी गर्ने व्यवस्था गरौँ, तर यो योजना बन्द गर्नुहुँदैन,” उनले भने। उद्योग विभागले गत कात्तिकमा जारी गरेको सूचनामा चालु आर्थिक वर्ष २०८२/८३ मा थप दायित्व सिर्जना हुने गरी निवेदन नलिने जनाएको थियो।

अध्यक्ष ढकालले देशको विकासका लागि बाह्य लगानीसँगै आन्तरिक पूँजी परिचालन गर्नुपर्ने बताए। “सरकारले वैकल्पिक विकास वित्त कोषको कुरा गर्नुभन्दा अगाडि नै सरकारलाई नै सहयोग पुगोस् भन्ने उद्देश्यले महासंघको पहलमा १० अर्ब रुपैयाँ पूँजीको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना गरेर काम सुरु गरिसकेका छौँ। यसले ठूला पूर्वाधार परियोजना र अन्य उद्यमका लागि आवश्यक पूँजी जुटाउन मद्दत गर्नेछ,” उनले भने।

स्टार्टअप तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न सरकारले कोष स्थापना गरेको कदमलाई सकारात्मक भनेका ढकालले उद्यमशीलता विकास र रोजगारी सिर्जनामा महासंघ सधैं सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे।

सम्बन्धित समाचार