काठमाण्डौ । विद्युतीय कार खरिद गर्न इच्छुक उपभोक्ताहरूलाई लामो समयदेखि सताइरहेको प्रमुख चिन्ता भनेको चार्जिङमा लाग्ने समय हो। यही समस्याको समाधानसहित चिनियाँ निर्माता बीवाईडीले नयाँ प्रविधि प्रस्तुत गरेको छ।
कम्पनीले सार्वजनिक गरेको ‘फ्ल्यास चार्जिङ ईभी’ प्रविधिले पेट्रोल पम्पमा लाग्ने समयलाई समेत चुनौती दिने दाबी गरिएको छ। बीवाईडीका अनुसार, यस प्रविधिबाट इलेक्ट्रिक कारलाई मात्र ५ मिनेटमा चार्ज गरी करिब ४०० किलोमिटरको रेन्ज प्राप्त गर्न सकिन्छ।
हालै सामाजिक सञ्जालमा सार्वजनिक गरिएको वास्तविक परीक्षण भिडियोले यस प्रविधि व्यापक चर्चा पाएको छ। भिडियोमा बीवाईडीको फ्ल्यागशिप सेडान Han EL लाई चार्ज गरिएको देखिन्छ, जहाँ ५ मिनेटमै ब्याट्री १० प्रतिशतबाट ७० प्रतिशतसम्म पुगेको छ। यस क्रममा चार्जिङ पावर ७४६ किलोवाटसम्म पुगेको उल्लेख गरिएको छ, जुन हालका ईभी मापदण्डभन्दा निकै उच्च हो।
बीवाईडीको यो उपलब्धि कम्पनीको नयाँ ‘सुपर ई–प्लेटफर्म’मा आधारित छ। यात्रु सवारीका लागि विश्वकै पहिलो मास–प्रोड्युस्ड फुल–डोमेन १,००० भोल्ट हाई–भोल्टेज आर्किटेक्चर भएको दाबी गरिएको छ। यस प्लेटफर्मसँग काम गर्ने फ्ल्यास चार्जिङ ब्याट्रीले १,००० एम्पियरसम्मको करेन्ट र १०सी चार्जिङ रेट हासिल गरेको छ।
सुपर ई–प्लेटफर्म र फ्ल्यास चार्जिङ ब्याट्रीको संयोजनले १,००० किलोवाटसम्मको चार्जिङ पावर उपलब्ध गराउन सक्छ। यसको प्रत्यक्ष लाभ भनेको, केवल ५ मिनेटमै करिब ४०० किलोमिटर सीएलटीसी ड्राइभिङ रेन्ज थप्न सक्ने क्षमता हो।
अत्यधिक पावर चार्जिङ सम्भव बनाउन बीवाईडीले आफ्नै नेक्स्ट–जेनेरेसन अटोमोटिभ–ग्रेड एसआईसी पावर चिप्स विकास गरेको छ। यी चिप्सको भोल्टेज रेटिङ १,५०० भोल्टसम्म रहेको छ, जसलाई उद्योगकै सबैभन्दा उच्च भोल्टेज क्षमता भएका मास–प्रोड्युस्ड एसआईसी चिप्स मानिएको छ।
बीवाईडीका सीईओ वाङ चुआनफुका अनुसार, कम्पनीको प्रमुख लक्ष्य उपभोक्ताको ‘चार्जिङ एङ्जायटी’लाई पूर्ण रूपमा हटाउनु हो। उनका भनाइमा, चार्जिङसम्बन्धी डर अझै पनि ईभी खरिदमा सबैभन्दा ठूलो अवरोध बनेको छ। यही दृष्टिकोणअनुसार Han EL सेडान र Tang EL एसयूभी जस्ता मोडेलहरू नयाँ प्लेटफर्ममा बजारमा ल्याइएका छन्।
कम्पनीको योजना चीनमा मात्र सीमित छैन। बीवाईडीले यो फ्ल्यास चार्जिङ प्रणालीलाई युरोप तथा अन्य अन्तर्राष्ट्रिय बजारमा पनि विस्तार गर्ने तयारी गरिरहेको छ।
