काठमाण्डौ । सालपा विकास बैंक लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले पुस १६ गतेदेखि आम सर्वसाधारणका लागि १४ लाख ३९ हजार १७९ कित्ता सेयर जारी गरेको हो, जसमा सामूहिक लगानी कोषका लागि ८६ हजार १९४ कित्ता र कर्मचारीका लागि २६ हजार ११९ कित्ता छुट्टाइएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयमार्फत दिन सकिन्छ। यो आईपीओ छिटोमा पुस २० गते र ढिलोमा पुस ३० गतेसम्म बन्द हुने व्यवस्था गरिएको छ भने बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले लिएको छ।
यसअघि कम्पनीले मंसिर २५ देखि २९ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिलो चरणमा आईपीओ जारी गरिसकेको थियो। नेपाल धितोपत्र बोर्डले गत मंसिर ८ गते १०० रुपैयाँ अंकित दरमा १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्काशनको अनुमति दिएको थियो, जसअन्तर्गत ५ प्रतिशत सामूहिक लगानी कोष, ०.५० प्रतिशत कर्मचारी र १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्टाइएको छ।
