काठमाडौँ / ज्योति विकास बैंक लिमिटेडले देशव्यापी रूपमा सातै प्रदेशमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। बैंकले विभिन्न स्थानमा कार्यक्रम सञ्चालन गर्दै कुल १७०० वटा बिरुवा रोपेको जनाएको छ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापना गरिएको 'हाम्रो विकास प्रवर्द्धन कोष'मार्फत सञ्चालन गरिएको उक्त कार्यक्रमअन्तर्गत प्रत्येक प्रदेशमा २५० वटा बिरुवा रोपिएको हो।
बैंकका अनुसार यस पहलले वातावरणीय सन्तुलन कायम राख्नुका साथै हरियाली विस्तार, स्वच्छ वातावरण संरक्षण र जनस्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।
बैंकले रोपिएका बिरुवाले दीर्घकालमा स्वच्छ हावा आपूर्ति, पारिस्थितिक सन्तुलन संरक्षण तथा दिगो जीवनशैली प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा लुम्बिनी वर्ल्ड पिस फोरम सँग सहकार्य गर्दै देशव्यापी वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको हो। उक्त सहकार्यअनुसार कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिएको बैंकले जनाएको छ।
ज्योति विकास बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक तथा वातावरणीय पहललाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
बैंकले संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै समाजको दिगो विकास र समग्र अभ्युदयमा योगदान पुर्याउने लक्ष्य दोहोर्याएको छ।
साथै, बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा ५० प्रतिशत बढी रकम छुट्याउँदै विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
नवजात शिशुको जीवन रक्षा सम्बन्धी पहलअन्तर्गत 'न्यानो नानी' कार्यक्रममार्फत हरेक वर्ष २५९० भन्दा बढी शिशुको जीवन बचाउन सहयोग पुगेको पनि बैंकले दाबी गरेको छ।
हाल बैंकले देशभर ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।
