Logo

Oct 20 2026 | २०८३, कात्तिक ४गते

images

राष्ट्र बैंककाे प्रतिवेदन : कस्ताे छ देशकाे वर्तमान आर्थिक तथा वित्तीय स्थिति ?

राष्ट्र बैंककाे प्रतिवेदन : कस्ताे छ देशकाे वर्तमान आर्थिक तथा वित्तीय स्थिति ?

दुई महिनामा चालु खाता रु. १६९ अर्ब ४ करोड र शोधनान्तर रु.१८७ अर्ब ६८ करोड बचतमा रहेको छ भने नेपाल सरकारको खर्च रु.१९९ अर्ब ८४ करोड र राजस्व परिचालन रु.१८३ अर्ब २१ करोड रहेको छ ।

अर्थ प्लस
राष्ट्र बैंककाे प्रतिवेदन : कस्ताे छ देशकाे  वर्तमान आर्थिक तथा वित्तीय स्थिति ?

काठमाडौँ / काठमाडौँ नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को दुई महिना (२०८३ भदौसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । बिहीबार प्रकाशित प्रतिवेदनअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.३४ प्रतिशत रहेको छ । 

कुल विदेशी विनिमय सञ्चिति रु.४०६५ अर्ब ७८ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २६ अर्ब ४८ करोड पुगेको छ, जुन १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।

चालु आर्थिक वर्षको भदौ महिनामा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २३.९ प्रतिशतले र अमेरिकी डलरमा १३.५ प्रतिशतले बढेको छ । उक्त महिनामा विप्रेषण आप्रवाह रु.२२१ अर्ब ३१ करोड रहेको छ ।

त्यस्तै, निर्यात ६१.९ प्रतिशतले र आयात ३१.६ प्रतिशतले बढेको छ । चालु खाता रु.१६९ अर्ब ४ करोड र शोधनान्तर रु.१८७ अर्ब ६८ करोड बचतमा रहेको छ । नेपाल सरकारको खर्च रु.१९९ अर्ब ८४ करोड र राजस्व परिचालन रु.१८३ अर्ब २१ करोड रहेको छ ।

विस्तृत मुद्राप्रदाय १.७ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.९ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ०.९ प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.३ प्रतिशत रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत र ९१ दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर १.३५ प्रतिशत रहेको छ ।

त्यस्तै, वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.११ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.३८ प्रतिशत रहेको छ ।

विस्तृतमा हेर्नुस्


मुद्रास्फीति उपभोक्ता 
मुद्रास्फीति
२०८३ भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.८७ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.५४ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.६९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.३४ प्रतिशतले ऋणात्मक रहेको थियो भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७० प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १६.६८ प्रतिशत, फलफूलको १५.९९ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको १२.१४ प्रतिशत, माछा तथा मासुको ७.३४ प्रतिशत, तरकारीको ७.०७ प्रतिशत र मरमसलाको ६.७१ प्रतिशतले बढेको छ । 

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२.७७ प्रतिशत, मदिराजन्य पेय पदार्थको ८.८३ प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ७.०६ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणको ६.०१ प्रतिशत र सुर्तीजन्य पदार्थको ५.४५ प्रतिशतले बढेको छ ।

समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ६.७८ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ६.१९ प्रतिशतले बढेको छ । 

समीक्षा अवधिमा प्रदेशगत आधारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सवैभन्दा बढी मधेश प्रदेशको ७.४८ प्रतिशत र सवैभन्दा कम सुदूरपश्चिम प्रदेशको ५.१६ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२८ प्रतिशत, तराईको ६.८९ प्रतिशत, पहाडको ६.४१ प्रतिशत र हिमालको ५.६९ प्रतिशत रहेको छ । 

थोक मुद्रास्फीति 

२०८३ भदौ महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ । अघिल्लो वर्षकोे सोही महिनामा यस्तो मुद्रास्फीति २.१० प्रतिशत रहेको थियो । 

समीक्षा महिनामा उपभोग्य वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति ०.५५ प्रतिशतले बढेको छ भने मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः १२.८७ प्रतिशत र ६.३९ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक विन्दुगत थोक मुद्रास्फीति ५.०८ प्रतिशतले बढेको छ ।

नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति

२०८३ भदौ महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत रहेको छ । सन् २०२६ अगस्ट महिनामा भारतमा यस्तो मुद्रास्फीति ४.८२ प्रतिशत रहेको थियो । 

बाह्य क्षेत्र वैदेशिक व्यापार 

आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा कुल वस्तु निर्यात ६१.९ प्रतिशतले वृद्धि भई रु.७६ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८८.६ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ७०.६ प्रतिशत, १३७.६ प्रतिशत र २२.७ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिष्टर धागो, पाम तेल जिंक शिट, पार्टिकल बोर्डलगायतका वस्तुको निर्यात बढेको छ भने औषधी (आयुर्वेदिक), प्रशोेधित छाला, दाल, नेपाली कागज तथा त्यसबाट निर्मित वस्तु, जडीबुटीलगायतका वस्तुको निर्यात घटेको छ । 

आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा कुल वस्तु आयात ३१.६ प्रतिशतले वृद्धि भई रु.४०१ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १६.२ प्रतिशतले वृद्धि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः २७.४ प्रतिशत, १७.२ प्रतिशत र ५६.६ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, कच्चा भटमासको तेल, खाने तेल, यातायात उपकरण र सवारी साधन तथा स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने सुन, धान तथा चामल, हवाइजहाजका स्पेयर पार्टपुर्जा, पोलिथिन ग्रान्युअल्स्, मेडिकलका सामान तथा पार्टपुर्जालगायतका वस्तुको आयात घटेको छ ।

आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा कुल वस्तु व्यापार घाटा २६.० प्रतिशतले वृद्धि भई रु.३२४ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ८.६ प्रतिशतले वृद्धि भएकोे थियो । समीक्षा अवधिमा निर्यात आयात अनुपात १९.१ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १५.५ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.३७ अर्ब ९३ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.२७ अर्ब ७५ करोड बराबरको भएको थियो । 

वैदेशिक व्यापारको संरचना 

बृहत् आर्थिक वर्गीकरणअनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुपात क्रमशः ७१.१ प्रतिशत, २८.८ प्रतिशत र ०.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुुपात क्रमशः ६९.३ प्रतिशत, २९.९ प्रतिशत र ०.८ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भएको कुल आयातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुपात क्रमशः ३९.४ प्रतिशत, ५१.९ प्रतिशत र ८.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरू क्रमशः ३६.८ प्रतिशत, ५४.३ प्रतिशत र ८.९ प्रतिशत रहेको थियो ।

निर्यात–आयात मूल्य सूचकाङ्क 

वार्षिक विन्दुगत आधारमा २०८३ भदौ महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्कमा ६.९ प्रतिशतले वृद्धि भएको छ भने आयात मूल्य सूचकाङ्कमा १६.१ प्रतिशतले वृद्धि भएको छ । २०८३ भदौ महिनामा व्यापारको सर्त ७.९ प्रतिशतले घटेको छ । 

सेवा 

समीक्षा अवधिमा खुद सेवा आय रु.२२ अर्ब ४ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.३० अर्ब ८८ करोडले घाटामा रहेको थियो ।

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय २८.६ प्रतिशतले वृद्धि भई रु.१४ अर्ब ९४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.११ अर्ब ६२ करोड रहेको थियो ।

समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १३.१ प्रतिशतले कमी भई रु.४१ अर्ब १० करोड कायम भएको छ । यसमध्ये शिक्षातर्फकाे व्यय रु.२९ अर्ब ५५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.४७ अर्ब ३१ करोड रहेकोमा शिक्षातर्फको व्यय रु.३२ अर्ब ७६ करोड रहेको थियो ।

विप्रेषण आप्रवाह 

आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले वृद्धि भई रु.४३६ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो । २०८३ भदौ महिनामा विप्रेषण आप्रवाह रु.२२१ अर्ब ३१ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु.१७४ अर्ब ६७ करोड रहेको थियो । 

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.५ प्रतिशतले वृद्धि भई २ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २७.६ प्रतिशतले बढेको थियो । 

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.४६९ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.३८४ अर्ब ८८ करोड रहेको थियो । 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ७८,३२० र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५२,१६३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ९०,१९८ र ४५,८८४ रहेको थियो ।

चालु खाता एवम् शोधनान्तर स्थिति

समीक्षा अवधिमा चालु खाता रु.१६९ अर्ब ४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१३० अर्ब ९७ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड ६७ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ११ करोडले बचतमा रहेको छ । 

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.१ अर्ब ५३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु.२ अर्ब २० करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु.२ अर्ब ९८ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.१ अर्ब २७ करोड रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.१८७ अर्ब ६८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१५३ अर्ब ६८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १० करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब २३ करोडले बचतमा रहेको छ ।

कुल विदेशी विनिमय सञ्चिति 

२०८३ असार मसान्तमा रु.३८९७ अर्ब ६७ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४.३ प्रतिशतले वृद्धि भई २०८३ भदौ मसान्तमा रु.४०६५ अर्ब ७८ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८३ असार मसान्तमा २५ अर्ब ३१ करोड रहेकोमा २०८३ भदौ मसान्तमा ४.६ प्रतिशतले वृद्धि भई २६ अर्ब ४८ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८३ असार मसान्तमा रु.३४७३ अर्ब १९ करोड रहेकोमा २०८३ भदौ मसान्तमा ४.० प्रतिशतले वृद्धि भई रु.३६१० अर्ब ७६ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८३ असार मसान्तमा रु.४२४ अर्ब ४८ करोड रहेकोमा २०८३ भदौ मसान्तमा ७.२ प्रतिशतले वद्धि भई रु.४५५ अर्ब १ करोड कायम भएको छ । २०८३ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.३ प्रतिशत रहेको छ ।

सञ्चिति पर्याप्तता सूचक

आर्थिक वर्ष २०८३/८४ को दुई महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २०.९ महिनाको वस्तु आयात र १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८३ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ६१.६ प्रतिशत, १४८.५ प्रतिशत र ४४.९ प्रतिशत रहेका छन् । २०८३ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ५९.१ प्रतिशत, १६३.४ प्रतिशत र ४३.८ प्रतिशत रहेका थिए ।

कच्चा पेट्रोलियम एवम् सुनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा २०८२ भदौ मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ६९.६९ रहेको कच्चा पेट्रोलियम ९ऋचगमभ इष् िद्यचभलत० को मूल्य २०८३ भदौ मसान्तमा ८३.४ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १२७.८४ पुगेको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०८२ भदौ मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर ३६९५.४० रहेकोमा २०८३ भदौ मसान्तमा १५.४ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ४२६३.५५ पुगेको छ ।

विनिमय दर

२०८३ असार मसान्तको तुलनामा २०८३ भदौ मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.३ प्रतिशतले अधिमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ २.७ प्रतिशतले अवमूल्यन भएको थियो । २०८३ भदौ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु.१५३.२४ पुगेको छ । २०८३ असार मसान्तमा उक्त विनिमय दर रु.१५३.७२ रहेको थियो ।

सरकारी वित्त स्थिति खर्च तथा राजस्व

नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा नेपाल सरकारको कुल खर्च रु.१९९ अर्ब ८४ करोड रहेको छ । समीक्षा अवधिमा चालु खर्च रु.१२२ अर्ब ४ करोड, पुँजीगत खर्च रु.७ अर्ब ६६ करोड र वित्तीय व्यवस्था खर्च रु.७० अर्ब १४ करोड रहेको छ ।

समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु.१८३ अर्ब २१ करोड पुगेको छ । यस अन्तर्गत कर राजस्व रु.१७२ अर्ब ४३ करोड र गैर कर राजस्व रु.१० अर्ब ७८ करोड परिचालन भएको छ ।

सरकारी राजस्वको संरचना

समीक्षा अवधिमा कुल राजस्वमा अप्रत्यक्ष करको अंश ७५.३ प्रतिशत, प्रत्यक्ष करको अंश १८.२ प्रतिशत, गैर–कर राजस्वको अंश ५.८ प्रतिशत र अन्य प्राप्तिको अंश ०.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा प्रत्यक्ष करको अंश घटेको छ भने अप्रत्यक्ष कर र गैर–कर राजस्वको अंश बढेको छ र अन्य प्राप्तिको अंशमा परिवर्तन कुनैपनि नभएको देखिन्छ ।

नेपाल सरकारको नगद मौज्दात

२०८३ भदौ मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.३८४ अर्ब ६९ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८३ असार मसान्तमा यस्तो मौज्दात रु.२७७ अर्ब ४६ करोड रहेको थियो ।

प्रदेश सरकार खर्च तथा राजस्व घट। समीक्षा अवधिमा प्रदेश सरकारहरूको कुल खर्च रु.४ अर्ब ४८ करोड र स्रोत परिचालन रु.२४ अर्ब ५४ करोड रहेको छ । प्रदेश सरकारहरुको कुल स्रोत परिचालनमध्ये संघीय सरकारबाट प्राप्त वित्तीय हस्तान्तरण (राजस्व बाँडफाँट समेत) गरी रु.१६ अर्ब ३८ करोड रहेको छ र प्रदेश सरकारको आन्तरिक स्रोतबाट प्राप्त राजस्व र अन्य प्राप्ति गरी रु.६ अर्ब ४२ करोड रहेको छ ।

मौद्रिक स्थिति मुद्राप्रदाय

आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा विस्तृत मुद्राप्रदाय १.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ०.३ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८३ भदौ मसान्तमा विस्तृत मुद्राप्रदाय १४.९ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा/नोक्सान समायोजित) रु.१८७ अर्ब ६८ करोड (४.७ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु.१५३ अर्ब ६८ करोड (५.८ प्रतिशत) ले बढेको थियो ।

समीक्षा अवधिमा सञ्चित मुद्रा २.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ५.० प्रतिशतले घटेको थियो । वार्षिक विन्दुगत आधारमा २०८३ भदौ मसान्तमा सञ्चित मुद्रा १३.६ प्रतिशतले बढेको छ ।

मौद्रिक क्षेत्रको आन्तरिक दाबी

आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा कुल आन्तरिक दाबी ०.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्र्षको सोही अवधिमा यस्तो दाबी ०.८ प्रतिशतले नै घटेको थियो । वार्षिक विन्दुगत आधारमा २०८३ भदौ मसान्तमा यस्तो दाबी २.१ प्रतिशतले बढेको छ । 

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी १९.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १३.० प्रतिशतले घटेको थियो । वार्षिक विन्दुगत आधारमा २०८३ भदौ मसान्तमा यस्तो दाबी ३०.९ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी २.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १.६ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८३ भदौ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ७.२ प्रतिशतले बढेको छ ।

निक्षेप परिचालन

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ०.९ प्रतिशत (रु.७२ अर्ब ८० करोड) ले वृद्धि भई रु.८३४९ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ०.५ प्रतिशत (रु.३२ अर्ब ८६ करोड) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८३ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.४ प्रतिशतले बढेको छ । 

२०८३ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल  निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.५ प्रतिशत, ४८.० प्रतिशत र ३४.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ५.८ प्रतिशत, ३८.० प्रतिशत र ४७.९ प्रतिशत रहेको थियो ।

२०८३ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३३.३ प्रतिशत रहेको छ । २०८२ भदौ मसान्तमा यस्तो निक्षेपको अंश ३५.२ प्रतिशत रहेको थियो । 

कर्जा प्रवाह 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशत (रु.९३ अर्ब ५२ करोड) ले वृद्धि भई रु.५९५० अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ०.९ प्रतिशत (रु.४९ अर्ब २४ करोड) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८३ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.३ प्रतिशतले बढेको छ ।

२०८३ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.५ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ६२.८ प्रतिशत र ३७.२ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा १.७ प्रतिशत, विकास बैंकहरूकोे ०.६ प्रतिशत र वित्त कम्पनीहरूको १.४ प्रतिशतले बढेको छ । 

२०८३ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १५.६ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६२.८ प्रतिशत रहेको छ । २०८२ भदौ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १५.१ प्रतिशत र ६४.३ प्रतिशत रहेको थियो । 

आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये खनिज क्षेत्रतर्फको कर्जा १०.४ प्रतिशत, यातायात उपकरण उत्पादन तथा मर्मत क्षेत्रतर्फको कर्जा ७.६ प्रतिशत, धातुजन्य उत्पादन, यन्त्र र विद्युतीय सामान उत्पादन तथा मर्मत क्षेत्रतर्फको ७.३ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ३.७ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा २.७ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २.५ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.१ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १.९ प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले बढेको छ भने वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा ४.७ प्रतिशत र कृषि क्षेत्रतर्फको कर्जा २.२ प्रतिशत घटेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये ट्रष्ट रिसिट (आयात) कर्जा ९.४ प्रतिशत, विपन्न वर्ग कर्जा ४.७ प्रतिशत, आवधिक कर्जा १.६ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) १.४ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा १.४ प्रतिशत र मार्जिन प्रकृति कर्जा ०.८ प्रतिशतले बढेको छ भने क्यास क्रेडिट कर्जा १.३ प्रतिशत, अधिविकर्ष कर्जा १.२ प्रतिशत, र हायर पर्चेज कर्जा ०.१ प्रतिशतले घटेको छ । 

तरलता व्यवस्थापन

समीक्षा अवधिमा निक्षेप सङ्कलन बोलकबोलमार्फत रु.७८२ अर्ब ७० करोड र स्थायी निक्षेप सुविधामार्फत रु.२९८१ अर्ब ८० करोड गरी कुल रु.३७६४ अर्ब ५० करोड बराबरको तरलता प्रशोचन (कारोबारमा आधारित) भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणहरूमार्फत पटक–पटक गरी रु.६७८५ अर्ब ६० करोड तरलता प्रशोचन गरिएको थियो । २०८३ भदौ मसान्तमा निक्षेप सङ्कलन बोलकबोलमार्फत रु.९०० अर्ब ६० करोड, स्थायी निक्षेप सुविधामार्फत रु.६४ अर्ब ५० करोड र नेपाल राष्ट्र बैंक ऋणपत्रमार्फत रु.४०० अर्ब गरी कुल रु.१३६५ अर्ब १० करोड प्रशोचन गरेको तरलता बक्यौता रहेको छ ।

समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बै ंकहरू) बाट अमेरिकी डलर १ अर्ब २८ करोड ९३ लाख खुद खरिद गरी रु.१९७ अर्ब ७ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब ६ करोड ४५ लाख खुद खरिद गरी रु.१४९ अर्ब ४२ करोड तरलता प्रवाह गरेको थियो । 

 समीक्षा अवधिमा अमेरिकी डलर ४८ करोड बिक्री गरी रु.७३ अर्ब ५५ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३८ करोड बिक्री गरी रु.५३ अर्ब २४ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो । 

अन्तरबैंक कारोबार 

आर्थिक वर्ष २०८३÷८४ को दुई महिनामा वाणिज्य बैंकहरूको रु.३१९ अर्ब ४० करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) को रु.२० अर्ब १७ करोड गरी कुल रु.३३९ अर्ब ५७ करोडको अन्तरबैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको रु.१९८ अर्ब ९ करोड र अन्य वित्तीय संस्थाहरूको रु.३० अर्ब ६५ करोड गरी कुल रु.२२८ अर्ब ७४ करोडको अन्तरबैंक कारोबार भएको थियो ।

ब्याजदर 

९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २०८२ भदौ मसान्तमा २.१३ प्रतिशत रहेकोमा २०८३ भदौ मसान्तमा १.३५ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर २०८२ भदौ मसान्तमा २.७५ प्रतिशत रहेकोमा २०८३ भदौ मसान्तमा पनि २.७५ प्रतिशत नै रहेको छ । 

२०८३ भदौ मसान्तमा वाणिज्य बैंकहरूको औसत आधार दर ४.७० प्रतिशत, विकास बैंकहरूको ६.१५ प्रतिशत र वित्त कम्पनीहरूको ६.७२ प्रतिशत रहेको छ । २०८२ भदौ मसान्तमा वाणिज्य बैंकहरूको औसत आधार दर ५.७२ प्रतिशत, विकास बैंकहरूको ८.०९ प्रतिशत र वित्त कम्पनीहरूको ८.७७ प्रतिशत रहेको थियो ) ।

२०८३ भदौ मसान्तमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.११ प्रतिशत, विकास बैंकहरूको ३.४८ प्रतिशत र वित्त कम्पनीहरूको ४.०४ प्रतिशत रहेको छ । २०८२ भदौ मसान्तमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.९६ प्रतिशत, विकास बैंकहरूको ४.५८ प्रतिशत र वित्त कम्पनीहरूको ५.७३ प्रतिशत रहेको थियो ।

त्यसैगरी, २०८३ भदौ मसान्तमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ६.३८ प्रतिशत, विकास बैंकहरूको ७.६७ प्रतिशत र वित्त कम्पनीहरूको ८.४७ प्रतिशत रहेको छ । २०८२ भदौ मसान्तमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ७.६६ प्रतिशत, विकास बैंकहरूको ८.९५ प्रतिशत र वित्त कम्पनीहरूको १०.१९ प्रतिशत रहेको थियो ।

वित्तीय पहुँच 

२०८३ भदौ मसान्तमा २० वाणिज्य बैंक, १७ विकास बैंक, १६ वित्त कम्पनी, ५० लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक गरी जम्मा १०४ वटा बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् । २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरू (लघुवित्त वित्तीय संस्थासमेत) को शाखा सङ्ख्या ११,३३२ रहेकोमा २०८३ भदौ मसान्तमा ११,२८९ रहेको छ  ।

२०८३ भदौ मसान्तमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा रहेका निक्षेप खाताहरूको सङ्ख्या ६ करोड ४० लाख ८ हजार ७६७ रहेको छ भने कर्जा खाताहरूको सङ्ख्या २० लाख ५२ हजार २६२ रहेको छ  ।

वित्तीय सबलता सूचक 

 २०८३ भदौ मसान्तको प्रारम्भिक तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाको औसत प्राथमिक पुँजी र पुँजीकोषको जोखिम भारित सम्पत्तिसँगको अनुपात क्रमशः ९.८२ प्रतिशत र १२.६४ प्रतिशत रहेको छ ।

त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूको खुद तरल सम्पत्ति तथा निक्षेपको अनुपात ३७.४१ प्रतिशत रहेको छ । २०८३ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अनुपात ५.६६ प्रतिशत रहेको छ । 

विद्युतीय कारोबार 

२०८३ भदौ महिनामा डेबिट कार्ड प्रयोगकर्ताहरूले १ करोड ८० हजार कारोबारमार्फत रु.७४ अर्ब ७८ करोड बराबरको कारोबार गरेका छन् । त्यसैगरी, मोबाइल बैंकिङअन्तर्गत ८ करोड ११ लाख ९४ हजार कारोबारमार्पmत रु.६१४ अर्ब ६७ करोड कारोबार भएको छ । साथै, क्यु–आर कोड भुक्तानीअन्तर्गत ७ करोड ५५ लाख ८१ हजार कारोबारमार्पmत रु.१६७ अर्ब ९३ करोड कारोबार भएको छ ।

पुँजी बजार

२०८२ भदौ मसान्तमा २६७२.२५ रहेको नेप्से सूचकाङ्क २०८३ भदौ मसान्तमा २६१२.४३ कायम भएको छ । 

२०८३ भदौ मसान्तमा धितोपत्र बजार पँुजीकरण रु.४४९६ अर्ब ७२ करोड कायम भएकोे छ । २०८२ भदौ मसान्तमा बजार पुँजीकरण रु.४४६७ अर्ब ३० करोड रहेको थियो । २०८२ भदौ मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७२.०५ प्रतिशत रहेकोमा २०८३ भदौ मसान्तमा ६८.१३ प्रतिशत रहेको छ ।

२०८३ भदौ मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या ३०५ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने १११ जलविद्युत् कम्पनी, ३१ उत्पादन तथा प्रशोधन उद्योग, ९ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन् । २०८२ भदौमा सूचीकृत कम्पनीहरूको संख्या २७६ रहेको थियो । 

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५१.४ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १७.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ८.७ प्रतिशत, लगानी कम्पनीको हिस्सा ६.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ४.१ प्रतिशत, होटेलको हिस्सा ३.२ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.० प्रतिशत रहेको छ । 

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८३ भदौ मसान्तमा सूचीकृत ९ अर्ब ६१ करोड शेयरको चुक्ता मूल्य रु.९४६ अर्ब ८४ करोड रहेको छ । टड। आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा रु.९ अर्ब ४५ करोड बराबरको साधारण सेयर, रु.१ अर्ब ५३ करोड बराबरको बोनस सेयर, रु.२३ करोड बराबरको हकप्रद सेयर र रु.८२ करोड बराबरको अन्य (मर्जरपश्चात्) गरी कुल रु.१२ अर्ब ३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । 

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.२ अर्ब ८ करोड बराबरको म्युचुअल फण्ड, रु.१ अर्ब २० करोड बराबरको डिबेन्चर र रु.५९ करोड बराबरको साधारण शेयर गरी कुल रु.३ अर्ब ८७ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

सम्बन्धित समाचार