Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

एनसीएचएलको ईएफटी कार्ड स्वीचमा एभरेष्ट बैंक आबद्ध, अब नेपालपे कार्ड पनि जारी गर्ने

एनसीएचएलको ईएफटी कार्ड स्वीचमा एभरेष्ट बैंक आबद्ध, अब नेपालपे कार्ड पनि जारी गर्ने

अर्थ प्लस
एनसीएचएलको ईएफटी कार्ड स्वीचमा एभरेष्ट बैंक आबद्ध, अब नेपालपे कार्ड पनि जारी गर्ने

काठमाडौँ / एभरेष्ट बैंक लिमिटेडले आफ्नो सम्पूर्ण कार्ड पोर्टफोलियो सफलतापूर्वक स्थानान्तरण (माइग्रेसन) गर्दै नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा सञ्चालित ईएफटी कार्ड स्वीचमार्फत कार्ड कारोबार सुरु गरेको छ।

बैंकका अनुसार अब भिसा कार्डको इस्यूइङ, अक्वायरिङ तथा सम्पूर्ण कार्ड कारोबारको प्रोसेसिङ र राउटिङ एनसीएचएलको ईएफटी कार्ड स्वीचमार्फत हुनेछ। साथै बैंकले अब नेपालपे कार्ड पनि जारी (इस्यू) तथा अक्वायर गर्ने भएको छ।

बैंकले नेपालपे कार्डमार्फत राष्ट्रिय कार्ड प्रणालीमा आफ्नो सहभागिता थप सुदृढ हुने र देशभरका एटीएम, पीओएस तथा डिजिटल मर्चेन्ट नेटवर्कमा राष्ट्रिय कार्ड प्रणालीको स्वीकार्यता विस्तार गर्न सहयोग पुग्ने जनाएको छ। नेपालपे कार्ड र डिस्काेभर फाइनान्सियल सर्भिसेजको डिस्कोभर कार्डबीचको सहकार्यका कारण बैंकका कार्डको आन्तरिक तथा अन्तर्राष्ट्रिय स्वीकार्यता पनि थप विस्तार हुने विश्वास गरिएको छ।

एभरेष्ट बैंकले पुरानो कार्ड स्वीचबाट एनसीएचएलको ईएफटी कार्ड स्वीचमा सफलतापूर्वक माइग्रेसन गर्नु बैंकका लागि महत्वपूर्ण रणनीतिक उपलब्धि भएको जनाएको छ। यसबाट कार्डसम्बन्धी सेवा सञ्चालन अझ सहज हुनुका साथै सञ्चालनगत स्थायित्व, कार्यकुशलता, सुरक्षा तथा लागत व्यवस्थापनमा समेत सुधार आउने अपेक्षा गरिएको छ।

हाल एनसीएचएलले ईएफटी कार्ड स्वीच तथा सम्बन्धित सेवाहरू सञ्चालन गर्दै आएको छ। ११ भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध रहेको उक्त प्रणालीमार्फत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड स्किमका कारोबारहरूको प्रोसेसिङ हुँदै आएको छ। गत आर्थिक वर्षमा मात्रै एनसीएचएलको ईएफटी कार्ड स्वीचमार्फत ४.२८ खर्ब रुपैयाँभन्दा बढीको कार्ड कारोबार प्रोसेस भएको जनाएको छ।

एभरेष्ट बैंकले हाल देशभर १३२ शाखा, ३२ राजस्व सङ्कलन काउन्टर, चार विस्तारित काउन्टर तथा १६७ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले आधुनिक बैंकिङ सेवामा पहुँच विस्तार गर्दै बढ्दो कार्ड प्रयोगकर्तालाई सहज, सुरक्षित र प्रविधिमैत्री सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित समाचार