Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images

राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक, कुनको अवस्था कस्तो?

राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक, कुनको अवस्था कस्तो?

अर्थ प्लस
राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक, कुनको अवस्था कस्तो?

काठमाडौं। मुलुकमा सबैभन्दा बढी सरकारी कारोबार गर्ने राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पछिल्लो पाँच वर्षमा व्यावसायिक विस्तार, निक्षेप संकलन, बजार हिस्सा वृद्धि तथा ग्राहक सेवाको गुणस्तर अभिवृद्धिमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ।

प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालका अनुसार, अघिल्लो आवमा पाँच खर्ब तीन अर्ब रहेको निक्षेप चालु आवमा ६ खर्ब २६ अर्ब पुगेको छ। यो करिब २४ प्रतिशत वृद्धि हो। यस अवधिमा बैंकको निक्षेप समग्र बैंकिङ उद्योगमा ७.५९ प्रतिशत पुगेको छ।

बैंकले चालु आवको चैत मसान्तसम्म तीन खर्ब ३९ अर्ब कर्जा विस्तार गरेको छ। आव २०७८/७९ मा ४.८१ प्रतिशत बजार हिस्सा ओगटेको बैंकले आव २०८२/८३ मा ५.७४ प्रतिशत हिस्सा कायम गर्न सफल भएको छ। हालको न्यून कर्जा मागको अवस्थामासमेत बैंकले वार्षिक १३.२६ प्रतिशत कर्जा वृद्धि गर्दै समग्र उद्योगभन्दा उच्च दर कायम गरेको छ।

वाणिज्य बैंकहरुको समग्र कर्जा वृद्धि ७.४३ प्रतिशत मात्र रहँदा राष्ट्रिय वाणिज्य बैंकले तुलनात्मक रूपमा मजबुत प्रदर्शन गरेको छ। बैंकको किताबी मूल्य ३५१.९८ प्रति शेयर पुगेको छ भने प्रतिशेयर आम्दानी २३.५५ कायम भएको छ। गत चैत मसान्तसम्म बैंकले दुई अर्ब ७६ करोड खुद नाफा आर्जन गरेको छ।

निष्क्रिय कर्जाको अवस्थामासमेत बैंकले सुधार देखाएको छ। समग्र बैंकिङ क्षेत्रमा ५.२५ प्रतिशत निष्क्रिय कर्जा रहँदा राष्ट्रिय वाणिज्य बैंकमा यो ४.४८ प्रतिशत मात्र छ। खराब कर्जा घटाउने रणनीतिमा बैंक निरन्तर सक्रिय रहेको प्रमुख कार्यकारी अधिकृत खनालले बताए।

बैंकले सातै प्रदेश, ७७ जिल्लामा ३१६ शाखा, ३३४ एटिएम, एक लाख ४७ हजार क्युआर मर्चेन्ट र २० लाख ६२ हजार मोबाइल बैंकिङ प्रयोगकर्तासहित ४८ लाख ७० हजार ग्राहकलाई सेवा दिइरहेको छ। ‘ए प्लस’ साख मूल्यांकन प्राप्त गरेको बैंक देशकै सबैभन्दा बढी क्युआर कारोबार गर्ने संस्थाका रूपमा पुरस्कृत भइसकेको छ।

सम्बन्धित समाचार