काठमाडौं, साउन १७ । दिव्यश्वरी हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण बिहीबार सार्वजनिक गरेको छ । सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार उक्त अवधिसम्ममा कम्पनीको खुद नोक्सानी अघिल्लो वर्षको तुलनामा बढेको देखिन्छ ।
अघिल्लो वर्ष असार मसान्तसम्ममा ३ करोड ८२ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको उक्त कम्पनी गत वर्ष भने ३ करोड ९१ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा गएको छ । कुल आम्दानी घटेकाले गत वर्षमा कम्पनीको खुद नोक्सानी बढेको देखिन्छ ।
अघिल्लो वर्ष ८ करोड ६१ लाख रूपैयाँभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले गत वर्ष भने ८ करोड १३ लाख रूपैयाँभन्दा बढी मात्र कुल आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा विद्युत् बिक्रीबाट ८ करोड ६० लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको उक्त कम्पनीले गत वर्ष भने ८ करोड ८ लाख रूपैयाँ मात्र आम्दानी गरेको छ ।
समीक्षा अवधिमा वित्तीय खर्च भने गत वर्ष कम भएको छ । अघिल्लो वर्ष ७ करोड ६९ लाख रूपैयाँभन्दा बढी भएको वित्तीय खर्च गत वर्ष ६ करोड ८८ लाख रूपैयाँबराबर भएको छ ।
जगेडा कोष रकम २९ करोड ७८ लाख रूपैयाँभन्दा बढी ऋणात्मक छ । कम्पनीको अल्पकालिन कर्जा ५ करोड ४४ लाख रूपैयाँभन्दा बढी र दिर्घकालिन कर्जा ५६ करोड ४१ लाख रूपैयाँभन्दा बढी छ । कम्पनीको प्रतिशेयर नेटवर्थ भने ७.८२ रुपैयाँ छ । कम्पनीको चुक्तापूँजी २६ करोड ४० लाख रूपैयाँ बराबर छ ।
