काठमाडौं, साउन २६ । गत आर्थिक वर्षमा १४ फाइनान्स कम्पनीमा १० वटा नाफामा देखिएका छन्। तर तीमध्ये ४ वटा कम्पनीले मात्रै शेयरधनीलाई लाभांश वितरण गर्न सक्ने क्षमता बनाएका छन्। खराब कर्जाको भारीले थिच्दा फाइनान्स कम्पनीहरुलाई नाफा बढाउन सकस देखिएको छ जसले गर्दा शेयरधनीलाई समेत लाभांश वितरण गर्न कठिन देखिएकाे हाे।
गत आर्थिक वर्षमा अधिकाँश फाइनान्स कम्पनीको खराब कर्जा बढ्दा उनीहरुको नाफा असर परेको छ। फाइनान्स कम्पनीहरुको औसत खराब कर्जा नै ८.५२ प्रतिशत छ। जब की नेपाल राष्ट्र बैंकले नै ५ प्रतिशतभन्दा बढी खराब कर्जा हुने फाइनान्स कम्पनीहरुलाई सिघ्र सुधारात्मक कारवाही गर्छ। खराब कर्जाकै कारण धेरै फाइनान्स कम्पनीहरु शेयरधनीलाई प्रतिफल दिन नसक्ने अवस्थामा छन्।
- मञ्जुश्री फाइनान्सले सबैभन्दा धेरै नाफा कमाउदा, ४ फाइनान्स घाटामै
फाइनान्स कम्पनीहरुले प्रकाशित गरेको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार मञ्जुश्री फाइनान्सले सबैभन्दा धेरै नाफा कमाएको छ, साे फाइनान्सले २६ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
यसैगरी गुडविल फाइनान्सले १४ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ भने आइसिएफसि फाइनान्सले ११ करोड ८६ लाख नाफा कमाएको छ।
यता जानकी फाइनान्स सबैभन्दा धेरै १३ करोड ७१ लाख रुपैयाँ घाटामा देखिएको छ भने पोखरा फाइनान्स १० करोड ६४ लाख, सेन्ट्रल फाइनान्स ६ करोड ३८ लाख र प्रोगेसिभ फाइनान्स ३ करोड ८० लाख रुपैयाँले घाटामा छ।
- निक्षेपमा आइसिएफसि फाइनान्स र कर्जामा मञ्जुश्री फाइनान्स अगाडि
विवरण अनुसार निक्षेप संकलनमा आइसिएफसि फाइनान्स सबैभन्दा अगाडि देखिएको छ भने मल्टिपर्पस फाइनान्स सबैभन्दा पछाडि छ। आइसिएफसि फाइनान्सले कुल १८ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने मल्टिपर्पस फाइनान्सले १ अर्ब ८७ करोड मात्रै निक्षेप संकलन गरेको छ।
यस्तै कर्जा लगानीमा मञ्जुश्री फाइनान्स सबैभन्दा अगाडि छ, साे फाइनान्सले गत असारसम्ममा कुल १४ अर्ब २४ करोड कर्जा लगानी गरेको छ।

रकमलाइ कराेडमा देखाइएकाे छ।
- ४ वटा फाइनान्स मात्रै लाभांश दिनसक्ने अवस्थामा, अन्यबाट शेयरधनीलाई शुन्य लाभांश
फाइनान्स कम्पनीहरुमा ४ वटा फाइनान्स कम्पनीहरुले मात्रै शेयरधनीलाई लाभांश वितरण गर्नसक्ने अवस्थामा देखिएका छन्। ती फाइनान्स कम्पनीहरुको पनि लाभांश क्षमता निकै कमजोर छ।
फाइनान्स कम्पनीहरुमा ८ वटा फाइनान्सको वितरणयोग्य नाफा नै नकारात्मक बन्दा उनीहरुले लाभांश दिन सक्ने अवस्था छैन। बाँकी रहेको फाइनान्समा गुह्वेश्वरी फाइनान्सले लाभांश क्षमता भएर पनि खराब कर्जा ५ प्रतिशतभन्दा धेरै रहेकोले लाभांश दिन पाउदैन।
बेष्ट फाइनान्सले ०.०६ प्रतिशत मात्रै लाभांश दिन पाउने अवस्था छ।
यसबाहेक श्री इन्भेष्टमेन्ट फाइनान्सले २.४३ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ भने मल्टिपर्पस र आइसिएफसि फाइनान्सले ३ प्रतिशत लाभांश दिन सक्ने अवस्था छ।
मञ्जुश्री फाइनान्सले भने फाइनान्स कम्पनीहरुमा सबैभन्दा धेरै ७.३५ प्रतिशत लाभांश दिनसक्ने क्षमता बनाएको छ।
लाभांश दिन सक्ने कम्पनीहरुमा पनि कुनै पनि फाइनान्सको लाभांश क्षमता उनीहरुले नै मुद्दती निक्षेपमा दिने ब्याजदरभन्दा धेरै छैन्।
- रिटर्न अन इक्वीटि अधिकाँशको न्यून, ४ वटाकाे नकारात्मक
अधिकाँश फाइनान्स कम्पनीहरुको रिटर्न अन इक्वीटि अत्यन्तै न्यून देखिएको छ। तथ्यांक अनुसार ४ वटाको रिटर्न अन इक्वीटि ऋणात्मक छ भने धेरैको रिटर्न १ प्रतिशत हाराहारी मात्रै छ।
फाइनान्स कम्पनीहरुमा सबैभन्दा महँगो शेयरमूल्य रहेको नेपाल फाइनान्सको समेत रिटर्न अन इक्वीटि १ रुपैयाँ छ। १ रुपैयाँ रिटर्न भएको कम्पनीलाई समेत २००० मूल्य तिर्न लगानीकर्ता तयार भइरहेका छन्।
फाइनान्स कम्पनीहरुमा मञ्जुश्री फाइनान्सको रिटर्न अन इक्वीटी सबैभन्दा धेरै ११.७८ प्रतिशत छ भने गुडविल फाइनान्सको ८.३६ प्रतिशत र गोर्खाज फाइनान्सको ७.७८ प्रतिशत रहेको छ।
- शेयरमूल्य निरन्तर बढ्दै
वित्तीय रुपमा कमजोर देखिएपनि फाइनान्स कम्पनीहरुको दोस्रो बजारमा भने शेयरमूल्य निरन्तर बढ्दै गएको छ।
नेपाल फाइनान्सको शेयरमूल्य बिहीबारसम्ममा प्रतिकित्ता मूल्य २०४९ रुपैयाँ पुगेको छ भने गुडविल फाइनान्सको ८३६ रुपैयाँ पुगिसकेको छ।
पछिल्लो केहि महिनामा नै शेयरमूल्य दोब्बर भएको छ।

