काठमाडौँ, साउन २७ । एशियन हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो वर्षको तुलनामा घटेको देखिन्छ।
अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले विद्युत बिक्रीबाट १४ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको थियो भने यस आर्थिक वर्षमा यो घटेर १३ करोड ५ लाख रुपैयाँमा सीमित भएको छ। यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानीमा १२.२७ प्रतिशतले गिरावट आएको हो।
आम्दानीमा आएको यस गिरावटका कारण कम्पनीको नोक्सानी पनि बढेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म ४ करोड २२ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनीको नोक्सानी यस वर्षको सोही अवधिमा बढेर ५ करोड ५८ लाख रुपैयाँ पुगेको छ।
चुक्ता पूँजी ३४ करोड रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोष १ करोड ३७ लाख रुपैयाँ ऋणात्मक रहेको छ। साथै, असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ४१ पैसा ऋणात्मक रहँदा, प्रतिशेयर नेटवर्थ ९५ रुपैयाँ ९५ पैसा कायम भएको छ।
