Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

सेयर बजारको उत्साहलाई दिगो बनाउन अर्थमन्त्री, भन्छन्–‘यत्तिकैमा चित्त बुझाएर बस्दैनौं, तीव्र प्रगति चाहिएको छ’

सेयर बजारको उत्साहलाई दिगो बनाउन अर्थमन्त्री, भन्छन्–‘यत्तिकैमा चित्त बुझाएर बस्दैनौं, तीव्र प्रगति चाहिएको छ’

अर्थ प्लस
सेयर बजारको उत्साहलाई दिगो बनाउन अर्थमन्त्री, भन्छन्–‘यत्तिकैमा चित्त बुझाएर बस्दैनौं, तीव्र प्रगति चाहिएको छ’

काठमाडौं, भदौ ३ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजारमा देखिएको उत्साहलाई सरकारले मर्न नदिने, बरु अझ दिगो र स्थिर बनाउने उद्घोष गरेका छन् ।  

नेपाल उद्योग वाणिज्य महासंघको आइतबार काठमाण्डौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले बजारमा देखिएको उत्साहलाई दिगो बनाइराख्न आवश्यक संरचनागत, नीतिगत र प्रविधिगत सुधारका लागि सरकार कटिबद्ध रहेको समेत बताएका छन् । 

'सेयर बजार अहिले उत्साहित छ । हामीले भन्ने गरेका छौं, सेयर बजारको अर्थतन्त्रको एउटा ऐना हो । यसले अर्थतन्त्रको अवस्थालाई प्रतिबिम्बित गर्छ ।' पौडेलले भने-'सरकारले लिएको नीतिकै कारण बजार उत्साहित छ । हामी सेयर बजारमा आएको उत्साहलाई दिगो र स्थिर ढंगले अगाडि बढेको देख्न चाहन्छौं । त्यसका लागि गर्नुपर्ने सबैखालका सुधारहरुमा सरकारको ध्यान गएको छ ।'  

"सरकारले लिएको नीतिकै कारण बजार उत्साहित छ । हामी सेयर बजारमा आएको उत्साहलाई दिगो र स्थिर ढंगले अगाडि बढेको देख्न चाहन्छौं । त्यसका लागि गर्नुपर्ने सबैखालका सुधारहरुमा सरकारको ध्यान गएको छ । "

उनले सेयर बजारप्रति आफ्नो र अर्थमन्त्रालयको विशेष ध्यान गएको उल्लेख गर्दै थपे-'बजार दिगो हुनुपर्छ । तर योसँग सँगै लगानीकर्ता डूब्नुहुन्न, कर्नरिङजस्ता विकृतिहरु बजारमा हुनुहुन्न । यस सम्बन्धी आएका सुझावप्रति हामी गम्भीर छौं । हामी यस्ता समस्याहरुको समेत समाधानसहित अगाडि बढ्नेछौं ।'  

उनले सरकारको पहलकदमी र लिएको लचक नीतिका कारण सेयर बजारमा मात्र नभई अर्थतन्त्रका अन्य क्षेत्रमा समेत उत्साह देखिएको दाबी गरे । उदाहरण प्रस्तुत गर्दै उनले अगाडि भने-' सरकारले प्राप्त गर्ने राजश्व गत साउनको तुलनामा २०८१ साउनमा २०.१ प्रतिशतले बढेको छ । पूँजीगत खर्च गत साउनको तुलनामा ९ गुणाले बढेको छ । शिथिल रहेको घरजग्गा कारोबारमा पनि गत साउनको तुलनामा यो साउनमा ११ प्रतिशतको बढोत्तरी देखिएको छ। घरजग्गा क्षेत्रबाट प्राप्त हुने राजश्व समेत बढेको छ ।'  

उनले समग्र अर्थतन्त्रमा आएको सकारात्मक परिवर्तनलाई जनताले सरकारप्रति गरेको विश्वास तथा सरकारले गरेका निर्णयहरुको प्रभावको रुपमा समेत अथ्र्याएका छन् ।  

उनले सेयर बजार र अर्थतन्त्रका अन्य क्षेत्रमा देखिएको सुधार पर्याप्त नभएको भन्दै यसमै चित्त बुझाएर सरकार नबस्ने समेत उद्घोष गरेका छन् । 'हामीलाई तीव्र गतिको प्रगति चाहिएको छ । आर्थिक षेत्रमा देखिएका समस्याको शीघ्र समाधान चाहिएको छ । सरकारले यी सबै विषयलाई महत्व दिएर आफ्नो काम गर्छ ।' उनले भने-'हामी निजी क्षेत्रको मनोबल बढाउने गरी अगाडि बढिरहेका छौं । अहिलेको सरकार निजी क्षेत्रको अभिभावकको भूमिकामा छ । तपाईहरुले कुनै असहज महसुस गर्नुपर्दैन ।'  

सम्बन्धित समाचार