Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

लगानीकर्ताको अस्थिर मानसिकताले लयमा नफर्किएको हो बजार ?

लगानीकर्ताको अस्थिर मानसिकताले लयमा नफर्किएको हो बजार ?

नियामकको सक्रियताले पनि शेयर बजारमा सुधार शेयरलाई लय दिन सकिको छैन । तीन हजार विन्दुसम्म पुगिसकेको बजार पुनः घटेर २७ सयमा नै झरेको छ ।

अर्थ प्लस
लगानीकर्ताको अस्थिर मानसिकताले लयमा नफर्किएको हो बजार ?

काठमाडौँ , भदौ २१ । यो साताका शेयर बजार लगानीकर्ताका लागि निराशजनक बनेको छ । साताका पाँच कारोबारमा तीन दिन परिसूचक राताम्य भएको छ भने दुई दिन मात्रै हरियाली छाएको देखिएको हो । 

नयाँ गठबन्धनको सरकार बनेपछि बजारमा केही समय उत्साह छाएको थियो । तर, त्यस रौनकता धेरै दिनसम्म भने टिक्न सकेन । 

नियामकको सक्रियताले पनि शेयर बजारमा सुधार शेयरलाई लय दिन सकिको छैन । तीन हजार विन्दुसम्म पुगिसकेको बजार पुनः घटेर २७ सयमा नै झरेको छ । 

शेयर बजारमा नाफा बुक गर्नेहरूको हाबी हुँदा नेप्से परिसूचकमा उतारचढाव देखिएको छ । 
आत्तिनु पर्दैन, केही समयका लागि बजार तल्लो बिन्दुमा आयो अब तल जाने शेयर बजारका विश्लेषक केशव कोइरालाले बताए । 

“शेयर बजारमा लगानीकर्ताहरू अपोजिट छन् । बढ्न थालेपछि बढ्छ भनेर हौसिएर किन्न थाल्छन् र घट्न थालेपछि अब घट्छ भनेर होपलेस भएर सस्तोमा सेल गर्न थाल्छन् । त्यस्तैले शेयर बजारमा उतारचढाव आउनु स्वभाविक हो, आत्तिनु पर्दैन,” उनले भने । 

दिर्घकालिन लगानीकर्ताहरू नगन्य मात्रामा रहेका विश्लेषक कोइरालाले बताए । अहिले बजारमा उनीहरूको अभाव खड्किएको छ । दिर्घकालिन लगानीकर्ताहरू बिना बजार चलायमान हुन नसक्ने उनको भनाई छ । 

बुलिस यात्रामा जाला नेप्से ?

शेयर बजारमा परिसूचक बढेपछि घट्छ र घटेपटि बढ्छ भन्ने सत्य हो । तर कतिसम्म बढ्छ वा घट्छ र कहिलेसम्म बढ्छ र घट्छ भन्ने चाँही अनुमान गर्न सकिदैछ । 

बजारमा केही समय नाफा बुक गर्नेहरू हाबी हुँदा वियर्स ट्रेन्डमा गएको भए पनि अब बुलिस यात्रामा जाने विश्लेषक कोइरालाको दावी छ । बुलिस बजारमा पनि नेप्से परिसूचक केही समय तलमाथि जानु स्वभाविक रहेको उनले बताए । तर, धेरै समय बजार अस्थिर रहने नदेखिएको उनको भनाई छ । 

कस्तो रह्यो साताको सेयर बजार ? 

नेप्से परिसूचक : गत आइतबार नेप्से परिसूचक १.९५ प्रतिशत घटेर २६९५.९३ बिन्दुमा झ‍र्यो । उक्त दिन परिसूचक ५३.६३ विन्दुले घटेको थियो । सोमबार भने शेयर बजारमा सामान्य उत्साह छायो । उक्त दिन परिसूचक ४.७२ प्रतिशत अर्थात १२७.३२ अङ्क बढेर २ हजार ८२३.२५ विन्दुमा पुग्यो । 

त्यसपछि तीव्र उतारचढावकाबीच मंगलबार परिसूचक ६.९० अङ्कले बढेर २८३०.१६ विन्दुमा बन्द भएको थियो । बुधबार भने बजार उच्च अङ्कले घट्यो । यस दिन परिसूचक ३.२० प्रतिशत अर्थात ९०.७३ अङ्क घटेर २७३९ अङ्कमा कायम भयो । यस्तै, आज बिहिबार भने परिसूचक ०.४४ प्रतिशत अर्थात १२.१० अङ्क घटेर २७२७.६ को विन्दुमा पुगेर बन्द हुन पुग्यो । 

कारोबार रकम : पछिल्ला दिनमा कारोबार रकम भने सुस्त भएको छ । बजार घटिरहँदा लगानीकर्ताको सक्रियता कम भएकोले पनि कारोबार केही घटेको जानकारहरू बताउँछन् । बिहीबार ३१६ धितोपत्रको दुई करोड एक लाख ५३ हजार ९९३ कित्ता सेयर एक लाख १२ हजार ६९२ पटकमा ९ अर्ब ६५ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

बुधबार पनि परिसूचक घटेसँगै कारोबार रकम पनि केही घटेको थियो । बुधबार दिनभरिमा ३२० कम्पनीको २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ९२ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

मंगलबार मंगलबार ३२८ वटा धितोपत्रको तीन करोड ५ लाख ९९ हजार ८९० कित्ता सेयर किनबेच हुदाँ १३ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भयो । सोमबार भने ३ करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर १ लाख ६० हजार ५७९ पटकमा १३ अर्ब १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । यस्तै, गत आइतबार भने २ करोड ६२ लाख ४६ हजार ४३५ कित्ता सेयर १ लाख ३० हजार ६३२  पटकमा १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सेयर मूल्यमा वृद्धि : बिहीबार कारोबारमा आएका धितोपत्रमध्ये आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्यो । बुधबार भने एक्सल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त, समाज लघुवित्त र इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको थियो । 

मंगलबार एनएलजी इन्स्योरेन्स, सिन्धु विकास बैंक, मातृभूमि लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, मानुषी लघुवित्त र विन्ध्यवासिनी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्यो ।

सोमबार नेशनल हाइड्रोपावर, वेष्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रसिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स र सुपर माई हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतका दरले बढेर सकारात्मक सर्किट लाग्यो । गत आइतबार भने, सुपर माइ हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशत बढेसँगै सकारात्मक सर्किट लागेको थियो ।

सेयर मूल्यमा गिरावट : बिहीबार नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा ८.९१ प्रतिशतले घटेर नकारात्मक सर्किट लाग्यो । बुधबार गुडविल फाइनान्सका लगानीकर्ताले सर्वाधिक धेरै ८.४ प्रतिशत गुमाएका थिए । 

मंगलबार हिमालयन पावर पार्टनरको सेयर मूल्य ८.८६ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको थियो । सोमबार लक्ष्मी उन्नती कोषको इकाई मूल्य सबैभन्दा बढी ४.७१ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको थियो भने, गत आइतबार पिप्ल्स हाइड्रोपावर र माइ खोला हाइड्रोपावर कम्पनीका सेयरधनीले सर्वाधिक बढी १० प्रतिशत गुमाएका थिए ।

सर्वाधिक कारोबार : बिहीबार सर्वाधिक सेयर खरिदबिक्रीको हिस्सा नेपाल फाइनान्स लिमिटेडले ओगटेको छ । यस कम्पनीको ४० करोड ५० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ५०३ रुपैयाँ कायम भएको छ । सेयर सर्वाधिक खरिदबिक्री हुने दोस्रोमा एनएलजी इन्स्योरेन्स छ । कम्पनीको ३४ करोड २२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

बुधबार नेपाल फाइनान्सले ३० करोड ५२ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार गर्दै सर्वाधिक कारोबार गर्ने कम्पनीको रुपमा रहेको थियो । मंगलबार एनएलजी इन्स्योरेन्सको सर्वाधिक कारोबार भयो । उक्त दिन यस कम्पनीको ३४ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । 

यस्तै, सोमबार र आइतबार सेयर सर्वाधिक खरिदबिक्रीको हिस्सा गुडवील फाइनान्सले ओगट्यो । यस कम्पनीको सोमबार ४६ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो भने आइतबार ५२ करोड ३१ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको थियो । 

३ हजारसम्म पुगेको थियो परिसूचक 

तीन वर्षका् अवधीसम्ममा नेप्से परिसूचक १८ सयदेखि २२ सयको बिन्दुमा नै अल्झिरह्यो । तर, गत २०८१ असार १७ गतेबाट भने परिसूचकले उकालो बाटो लियो । नेप्से परिसूचक २ हजारको बिन्दुबाट लगातार उकालो लाग्दै २६ सयको बिन्दुमा पुग्यो । यता साउन २१ मा भने परिसूचक २ हजार ७९६ बिन्दुमा पुग्यो । तर, साउन २२ गते एकै दिन १४५ अङ्कले बजार सूचक घट्यो । यो ५.१८ प्रतिशतको गिरावट थियो । नेपालमा गत तीनबर्षदेखि यति ठूलो गिरावट आएको थिएन । 

यता, साउन २२ गते उच्च अङ्कले घटेको परिसूचक साउन २३ गते भने १०८ अङ्कले बढ्यो । यसरी शेयर बजारमा देखिएको उतारचढाव यतिमा नै सिमित भएन । साउन ३१ गते ३ हजार अङ्कमा पुगेर बजार बन्द भयो । २०७८ माघ २० गते २ हजार ८७६.७४ विन्दुमा रहेको नेप्से त्यसयता माथि उक्लिन सकिरहेको थिएन ।

सम्बन्धित समाचार