Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
समाचार

स्टार्टअप उद्यमीका लागि उद्योग मन्त्रालयले छुट्यायो २५ करोड, तीन प्रतिशत ब्याजमा ऋण

स्टार्टअप उद्यमीका लागि उद्योग मन्त्रालयले छुट्यायो २५ करोड, तीन प्रतिशत ब्याजमा ऋण

स्टार्टअप उद्यमीका लागि उद्योग मन्त्रालयले छुट्यायो २५ करोड, तीन प्रतिशत ब्याजमा ऋण

काठमाडौँ, १५ माघ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यमीका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको छ । नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई स्टार्टअप उद्यममा संलग्न हुन उत्प्रेरित गर्दै सहुलियतपूर्ण कर्जा प्रदान गर्ने उद्देश्यले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८०’ स्वीकृत गरेर मन्त्रालयले उक्त रकम विनियोजन गरेको जनाएको छ ।

उद्यम दर्ता गरेर ७ वर्ष पूरा नगरेका कार्यविधिको मापदण्डभित्र पर्ने उद्यमीले स्टार्टअप कर्जाको लागि आवेदन पाउने मन्त्रालयले जनाएको छ । ‘कुनै वस्तु वा सेवाको उत्पादन वा सञ्चालन वा वितरण प्रक्रियामा नवीन प्रविधि एवम सिर्जनशील सोचको प्रयोग गरेको’, कुल चुक्ता पुँजी दुई लाखदेखि १० लाख रुपैयाँ भएको र स्थिर पुँजी दुई करोड रुपैयाँभन्दा बढी नभएको उद्यमीले उक्त सहुलियतपूर्ण कर्जा पाउने कार्यविधिमा उल्लेख गरिएको छ ।

कृषि तथा पशुपन्छी, वन पैदावार, पर्यटन तथा मनोरञ्जन र अतिथि सत्कार, विज्ञान, प्रविधि, सूचना तथा सञ्चार, मानव स्वास्थ्य सेवा, शिक्षा तथा शिक्षण सिकाइ, सहज र सुरक्षित यातायात, अटोमोबाइल, परम्परागत प्रविधि, उत्पादन र सेवा प्रवाहसँग सम्बन्धितलगायत १६ क्षेत्रका उद्यमीहरू स्टार्टअप कर्जा प्राप्त गर्न योग्य हुने कार्यविधिमा उल्लेख छ ।

कार्यविधिअनुसार स्टार्टअप परियोजनाको कार्यान्वयन औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले गर्ने र उद्यमी छनोटका लागि प्रस्ताव आह्वान गर्नेछ । प्रस्तावका लागि कार्यविधिले निश्चित ढाँचासमेत तोकेको छ । साथै, एकजना उद्यमीले अधिकतम २५ लाख रुपैयाँ वार्षिक ३ प्रतिशत ब्याजमा पाउने कार्यविधिमा उल्लेख छ । छनोट भएका उद्यमीहरूले बैंकबाट अधिकतम शून्य दशमलव एक प्रतिशत ब्याज लिएर कर्जा प्रवाह गर्ने र तमसुकमा सम्झौता भएको आधारमा ब्याज र किस्ता बुझाउनुपर्ने छ ।

बैंकले ५ लाखसम्मको कर्जा एक किस्ता, १५ लाखसम्मको कर्जा २ किस्ता र त्यसभन्दा माथिको कर्जा ३ किस्तामा उपलब्ध गराउने मन्त्रालयका सहायक प्रवक्ता शेखरबाबु कार्कीले बताएका छन् ।

सम्बन्धित समाचार