Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
समाचार

हेटौँडा सवस्टेसनको निर्माण अन्तिम चरणमा, एक महिनाभित्रमा सवस्टेसन सञ्चालनमा ल्याउने

हेटौँडा सवस्टेसनको निर्माण अन्तिम चरणमा, एक महिनाभित्रमा सवस्टेसन सञ्चालनमा ल्याउने

हेटौँडा सवस्टेसनको निर्माण अन्तिम चरणमा, एक महिनाभित्रमा सवस्टेसन सञ्चालनमा ल्याउने

काठमाडौं, फागुन १ । मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण एवं आधुनिकीकरणका लागि महत्वपूर्ण मानिएको मकवानपुरमा निर्माणाधीन चार सय केभी क्षमताको सवस्टेशनको काम अन्तिम चरणमा पुगेको छ ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङमा सो सवस्टेशन निर्माणाधीन छ । हेटौँडा सवस्टेसनमा ४००/२२० केभी, २२०/१३२ केभी र १३२/११ केभी सवस्टेसन निर्माणाधीन छन् ।

एक महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालन (चार्ज) गर्ने लक्ष्यका साथ सवस्टेसनका उपकरणको जडान, परीक्षणलगायत अन्तिम चरणका काम भइरहेका छन् । सवस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् प्रवाहका अतिरिक्त स्थानीयरुपमा आपूर्ति गरिनेछ । यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्ति पर्याप्त, भरपर्दो र गुणस्तरीय हुनेछ ।

निर्माण अनुगमनमा पुग्नुभएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पछिल्लो समयमा सवस्टेसनको काम सन्तोषजनक देखिएको बताए । 

कार्यकारी निर्देशक घिसिङले निर्माणमा संलग्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग छलफल गरेका थिए । घिसिङले एक महिनाभित्रमा सवस्टेसन सञ्चालनमा ल्याउने गरी बाँकी काम सम्पन्न गर्न निर्देशन दिए । 

सरकार र विद्युत् प्राधिकरणको लगानीमा हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी सवस्टेसन विस्तार आयोजनाअन्तर्गत निर्माणाधीन ४००/२२० केभी हेटौँडा सवस्टेसनमा तीन सय १५ एमभिए क्षमताका तीन थान पावर ट्रान्सफर्मर छन् । त्यसको क्षमता नौ सय ४५ एमभिए छ ।

धनुषाको ढल्केबरबाट र अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)बाट प्राप्त हुने अनुदानबाट नुवाकोटको रातमाटेबाट निर्माण हुने चार सय केभीको डबल सर्किट प्रसारण लाइन हेटौँडा सवस्टेसनमा ल्याएर जोडिनेछ । यसका लागि हेटौँडा सवस्टेसनमा आवश्यक पूर्वाधार निर्माण गरिएको छ ।

आयोजनाअन्तर्गत नै ढल्केबर र इनरुवामा ४००/२२० केभीका सवस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेका छन् । हेटौँडा र इनरुवा सवस्टेसन निर्माणका लागि २०७५ पुसमा ठेक्का सम्झौता भएको थियो ।

देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौँडा २२०/१३२ केभी सबस्टेसन निर्माण गरिएको हो ।

सवस्टेसनमा एक सय ६०/१६० एमभिएका दुई पावर ट्रान्सफर्मर छन् । ठेकेदार कम्पनीको कार्यसम्पादन सन्तोषजनक नभएपछि ठेक्का तोडी बाँकी रहेको काम गर्न २०७५ पुसमा नयाँ ठेक्का सम्झौता गरिएको थियो । 

आयोजनाअन्तर्गत नै धनुषा र इनरुवामा २२० केभीका सवस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् । आयोजना सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा सुरु गरिएको हो ।

हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत १३२/११ केभी हेटौँडा सवस्टेसन निर्माण गरिएको हो । यो सवस्टेसनबाट स्थानीयरुपमा विद्युत् आपूर्ति गरिनेछ । सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा आयोजना सुरु गरिएको थियो । 

सम्बन्धित समाचार