Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
समाचार

सरकारको लागि शेयर बजार दुहुनो गाई, वर्षै पिच्छे अर्बौं कमाउँदा त्यही बजारको विकासमा छैन मतलब

सरकारको लागि शेयर बजार दुहुनो गाई, वर्षै पिच्छे अर्बौं कमाउँदा त्यही बजारको विकासमा छैन मतलब

सरकारको लागि शेयर बजार दुहुनो गाई, वर्षै पिच्छे अर्बौं कमाउँदा त्यही बजारको विकासमा छैन मतलब

काठमाडौ, फागुन ३ । शेयर बजार सरकारको लागि कहिले नथाक्ने दुहुनो गाई जस्तै देखिएको छ। हरेक दिन हुने कारोबारबाट पूँजीगत लाभकर सङ्कलन गर्दै आएको सरकारले यही क्षेत्रको विकासमा भने कुनै चासो राख्ने गरेको छैन।

हरेक पटक आएका अर्थमन्त्रीले शेयर बजारको विकास आवश्यक रहेको र यसलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने भन्न छुटाउँदैनन्। अझै सरकारले हरेक वर्ष लिने वित्तीय नीतिमा समेत शेयर बजारको विषयमा केही न केही समेटेकै हुन्छ। तर बजेटमा समेटिएका विषयमा कर घट/बढ गर्ने बाहेक अरू कुनै विषयमा सरकारले भनेका कुरा पुरा हुँदैनन्। सरकारले हेरफेर गरेको करको विषय भने तत्कालै लागु हुने गरेका छन्। सरकार कर उठाउन जति अघि सरेको देखिन्छ तर त्यही क्षेत्रको विषयमा सरकारले खासै गम्भीरता पूर्वक काम गर्दैन।

शेयर बजारले सरकारलाई वार्षिक १४ अर्ब रुपैयाँसम्म पूँजीगत लाभकर उठाएर दिएको रेकर्ड छ। सामान्यतया सरकाले वार्षिक दुई अर्ब भन्दा बढी लाभकर शेयर बजारबाट प्राप्त गर्दै आएको छ। तर सरकारको तर्फबाट यस क्षेत्रका लागि भनेर खर्च गरेको अहिलेसम्म सुनिएको छैन। दोस्रो बजार नाफामूलक संस्था भएकोले पनि उसले आफैले नाफा कमाएर विकासको काम अघि बढाउनु पर्छ। तर नीतिगत रुपमा र बजारको विकासको लागि भने सरकारले नै काम गर्नु पर्ने हुन्छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सरकारको सबैभन्दा बढी लगानी भएको नाताले पनि उ दोस्रो बजार सञ्चालन गर्ने संस्थाको सबैभन्दा ठूलाे लगानीकर्ता हो। लगानीकर्ता भइसकेपछि लाभांश र लाभकर मात्रै लगेर हुँदैन। त्यसलाई थप स्तरोन्नति गर्नु पर्ने दायित्व पनि लगानीकर्ताको नाताले सरकारकाे हुन्छ।

 गत आर्थिक वर्ष सरकारले दोस्रो बजारमा हुने कारोबारबाट पूँजीगत लाभकर स्वरूप २ अर्ब ९७ करोड रुपैयाँ लग्यो। उक्त वर्ष १ अर्ब २० करोड रुपैयाँ दीर्घकालीन लगानीकर्ताले तिरेका थिए भने १ अर्ब ७६ करोड अल्पकालीन लगानीकर्ताले तिरेका थिए।

चलु वर्ष गएको सात महिनामा नै गत वर्षको हाराहारीमा लगानीकर्ताले पूँजीगत लाभकर तिरीसकेका छन्। केन्द्रीय निक्षेप प्रणाली(सिडिएससि)का अनुसार साउनदेखि माघसम्म २ अर्ब ७८ करोड रुपैयाँ लाभकर उठी सकेको छ। गत वर्ष सोही अवधिमा १ अर्ब ५८ करोड रुपैयाँ मात्रै उठेको थियो। जुन गत वर्षको सोही अवधिको तुलनामा ७६.११ प्रतिशत बढी हो। यही अवस्थामा लाभकर उठ्दै जाने हो भने चालु वर्ष ३ अर्बको हाराहारीमा लाभकर उठ्ने अनुमान सिडिएससिले गरेको छ।

मासिक रुपमा हेर्ने हो भने पनि लाभकर बढ्दै गइरहेको छ। गत पुस महिनाको भन्दा माघमा ३० प्रतिशतले लाभकर बढेको छ। गत पुसमा ७४ करोड रुपैयाँ लाभकर उठेको थियो भने माघमा बढेर ९७ करोड रुपैयाँ पुगेको छ। जुन पुसको भन्दा ३०.६६ प्रतिशत बढी हो। माघमा दीर्घकालीन लगानीकर्ताबाट उठ्ने लाभकर घटेको छ। माघमा १६ करोड ३१ लाख मात्रै उठ्यो। जबकि पुसमा १७ करोड २८ लाख उठेको थियो। जुन पुसको तुलनामा ५.६३ प्रतिशत कम हो। यसैगरी अल्पकालीन लगानीकर्ताबाट उठ्ने लाभकर ४१ प्रतिशतले बढेको छ।

गत पुसमा ५२ करोड ५४ लाख रुपैयाँ उठेकोमा माघमा आएर ७४ करोड १३ लाख पुगेको छ। जुन ४४.९४ प्रतिशतको वृद्धि हो। यता संस्थागत लगानीकर्ताबाट उठ्ने लाभकर समेत बढेको छ। माघमा संस्थागत लगानीकर्ताले ६ करोड ७४ लाख रुपैयाँ तिरेका छन्। गत पुसमा उनीहरूले चार कोड ६५ लाख तिरेका थिए। जुन ४४.९४ प्रतिशतको वृद्धि हो।      

सम्बन्धित समाचार