काठमाडौं, वैशाख ५ । सान्भि इनर्जी लिमिटेडले आज (बैशाख ५ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी ८८ करोड रुपैयाँको १० प्रतिशत अर्थात ८ करोड ८० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ८ लाख ८० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।
आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो यसमा १० बजेपछि आवेदन दिन मिल्नेछ।
यस कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँले जम्मा ३७ लाख ९० हजार कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ। जसमध्ये पहिलो चरणमा ८ लाख ८० हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र २ लाख ९१ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो।
आयोजना प्रभावितका लागि निष्कासन गरिएको शेयरमा ईलाम नगरपालिका वडा नम्बर १०, माईजोगमाई गाउँपालिका वडा नम्बर १, ३ र ४, सूर्योदय नगरपालिका वडा नम्बर १० र ११ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।
यसमा घटीमा १० कित्ता र बढीमा २० हजार कित्तासम्म माग गर्दै वैशाख १९ गतेसम्म आवेदन दिन सकिनेछ। तर आयोजना प्रभावितबाट पूर्ण आवेदन नपरेमा जेठ ३ गतेसम्म बिक्री अवधि लम्बिने छ भने वैदेशिक रोजगारीमा रहेकाको अवधि लम्बिने छैन।
यसमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ। पहिलो चरणको आईपीओ बाँडफाँडपछि दोस्रो चरणमा सर्वसाधारणलाई २६ लाख १९ हजार कित्ता आईपीओ निष्कासन गरिने कम्पनीले जनाएको छ।
