काठमाडौँ, फाल्गुण २१ । कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार सोमबारै मन्त्रिपरिषद् समेत पुनर्गठन हुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेसहित रास्वपा, जसपा र जनमत सहभागी हुने भएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आजै नयाँ मन्त्रिमण्डल गठन हुने जानकारी दिएका हुन् ।
एमाले सचिवालय सदस्यका अनुसार प्रचण्डको नेतृत्वमा नयाँ मन्त्रिमण्डल गठन हुनेछ । जसमा एमालेका एक, रास्वपाका एक, जसपाका एक मन्त्री रहनेछन् । एमाले सचिवालय बैठकले पहिलो चरणमा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीलाई पठाउनेछ ।
त्यसैगरी रास्वपाबाट सभापति रवि लामिछाने मन्त्रीका रूपमा शपथ लिने बताइएको छ । आजै साँझसम्म नयाँ मन्त्रिमण्डल गठन गर्ने र शपथ समेत हुने एमाले नेताहरूको भनाई छ । यस्तै जसपाले मन्त्री बन्ने नाम दिन बैठक बोलाएको छ ।
