काठमाडौं। बन्दीपुर केबलकार एन्ड टुरिजम कम्पनीले आजदेखि प्रारम्भिक निष्कासन (आईपीओ) बिक्री खुलाएको छ। कम्पनीकाे आईपीओमा पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीले आवेदन दिन सक्नेछन्।
कम्पनीले आयोजना प्रभावितका लागि ५ लाख ६६ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५ लाख २९ हजार ४०० कित्ता निष्कासन गरेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५८ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ।
आयोजना प्रभावितलाई छुट्याइएको आईपीओमा तनहुँको बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिका वडा–१ तथा गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओमा न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेकाले साउन ९ र आयोजना प्रभावितले साउन २० सम्म आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ।
कम्पनीलाई केयर रेटिंग्स नेपालले ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ दिएको छ। यसले कम्पनीको दायित्व वहन क्षमतामा औषत जोखिम रहेको संकेत गर्छ।
पहिलो चरणको आईपीओ निष्कासन गरी बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ निष्कासन गरिने कम्पनीले जनाएको छ।
