काठमाडौं- दरमखोला हाइड्रो इनर्जीको आईपीओ साउन २९ गते बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले साउन २९ गते बिहीबार बिहान आईपीओ बाँडफाँडको तयारी गरेको हो ।
कम्पनीको आइपीओमा २३ लाख ७२ हजार ९२६ जनाले कुल २ अर्ब ८२ करोड ५२ लाख १५ हजार रुपैयाँ बराबरको २ करोड ८२ लाख ५२ हजार १५० कित्ताका लागि आवेदन दिएका छन् । जुन यो मागभन्दा साढे ११ गुणा बढी हो । आवेदकमध्ये २१ लाख ३० हजार भन्दा बढीको हात खाली हुनेछ ।
यस आईपीओमा २ लाख ४२ हजार ३१८ जनाले १०।१० कित्ताका दरले सेयर हात पार्नेछन् । जसमा सोहि मध्यका ५ जनाले भने थप १ कित्ता गरी ११ कित्ता सेयर हात पार्नेछन् ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा आयोजना प्रभावितलाई १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ९१ हजार १५० कित्ता आईपीओ बिक्री गरिसकेको छ ।
बाँकी सेयरमध्ये १ लाख ४५ हजार ९७५ कित्ता आईपीओ सामूहिक लगानी कोषलाई र ५८ हजार ३९० कित्ता आईपीओ कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरी बाँकी २४ लाख २३ हजार १८५ कित्ता आईपीओ आम सर्वसाधारणमा निष्कासन गरेको थियो ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आइआरएन डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
