Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सेयर कारोबार आम्दानीमा बैंकहरुको ५३.५७% वृद्धि, शीर्ष स्थानमा को ?

सेयर कारोबार आम्दानीमा बैंकहरुको ५३.५७% वृद्धि, शीर्ष स्थानमा को ?

अर्थ प्लस
सेयर कारोबार आम्दानीमा बैंकहरुको ५३.५७% वृद्धि, शीर्ष स्थानमा को ?

काठमाण्डौ । वाणिज्य बैंकहरुले सेयरमा लगानी गरेर ९ अर्ब भन्दा बढी आम्दानी गरेका छन् । बैंकहरुले गत आवको अन्त्यसम्म सेयर कारोबारबाट र विदेशी मुद्राको कारोबारबाट ९ अर्ब ३८ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेका छन् ।  

जुन यो अघिल्लो आवको तुलनामा ५३.५७ प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकहरुको यस्तो आम्दानी ६ अर्ब ११ करोड १ लाख रुपैयाँ थियो ।  

नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार वाणिज्य बैंकहरुले एक वर्ष अवधि व्यतित भइसकेको लगानीबाट एक आवमा प्राथमिक पूँजीको २० प्रतिशतसम्म सेयर बिक्री गर्न पाउने व्यवस्था छ । यस्तो व्यवस्थाले लगानीको एक वर्ष पुरा भइसकेपछि बैंकहरुले पर्याप्त रकमको सेयर तथा अन्य लगानी बिक्री गर्न सक्नेछन् ।  

यस्तो खालको व्यवस्थाअनुसार बैंकहरुले सेयरमा गरेको लगानीबाट हुने आम्दानी व्यालेन्स्ड सिटमा ‘नेट ट्रेडिङ इनकम’ सूचकमा देखाएका हुन्छन् । साथै बैंकहरुले विदेशी मुद्राको कारोबार विशेषगरी डलरको खरिद बिक्री गरी त्यसबाट हुने आम्दानी समेत यस्तो सूचकमा जोडेका हुन्छन् ।  

तर बैंकहरुको डलर सटहीबाट हुने आम्दानी भन्दा सेयरमा गरिएको लगानी आम्दानी बढी हुने भएकाले यो सूचकलाई मुख्यतः सेयरमा गरिएको लगानीबाट हुने आम्दानी बुझ्न सकिन्छ ।  

जस्तै कुनै एक बैंकले सूचीकृत एउटा कम्पनीको सेयरमा १० लाख रुपैयाँबराबरको सेयर किनेको छ र केही महिनापछि त्यसको भ्यालु १२ लाख रुपैयाँ पुग्यो त्यसपछि बैंकले सेयर बिक्री गर्छ भने २ लाख रुपैयाँ बैंकको ट्रेडिङ आम्दानी हुन्छ । तर बैंकले उक्त सेयर नबेचेर राख्छ भने त्यो अनरियलाइज्ड गेनको रुपमा देखिन्छ ।  

68a70b3cb6289.png
undefined

यसअघि एक वर्ष व्यतित भइसकेको लगानीबाट प्राथमिक पूँजीको १ प्रतिशतमात्रै सेयर बिक्री गर्न पाउने व्यवस्था थियो । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकहरुको सेयर बिक्रीमा खुकुलो नीति ल्याएकाले बैंकहरुको यस्तो आम्दानी बढ्न पुगेको हो ।  

अघिल्लो आवको तुलनामा गत आवमा सेयरबजारमा केही प्रतिशत सुधार देखिएसँगै पनि बैंकहरुको सेयरमा गरिएको लगानीबाट हुने आम्दानी बढेको हो । गत आवसम्म सबै बैंकहरुको यस्तो आम्दानीमा उल्लेख्य वृद्धि देखिएको छ ।  

बैंकहरुले सूचीकृत अन्य कम्पनीहरुको सेयरमा लगानी गरेर नाफा आर्जन गरेका हुन्छन् । साथै सोही नाफाबाट बैंक स्वयंले लगानीकर्तालाई लाभांश वितरण गर्ने गर्दछ । तर बैंकहरुको सेयरबजारमा गरिएको लगानीमा नेपाल राष्ट्र बैंकले नियमन गरेको हुन्छ ।  

गत आवमा सबैभन्दा बढी यस्तो आम्दानी गर्ने बैंकमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले ९१ करोड ६८ लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आवको तुलनामा ५७.८५ प्रतिशत बढी हो ।  

त्यस्तै, नबिल बैंकले ७६ करोड ८१ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७६ करोड ६० लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ७२ करोड १० लाख, हिमालयन बैंकले ६३ करोड २५ लाख, सानिमा बैंकले ५९ करोड ३३ लाख, कृषि विकास बैंकले ५७ करोड ८४ लाख, प्रभु बैंकले ५४ करोड २६ लाख, लक्ष्मी सनराइज बैंकले ५२ करोड २ लाख, एभरेष्ट बैंकले ४९ करोड ९३ लाख रुपैयाँ र सिद्धार्थ बैंकले ४२ करोड ४१ लाख रुपैयाँ आम्दानी गरेका छन् ।  

यसका साथै, कुमारी बैंकले ४० करोड ९३ लाख, एनएमबी बैंकले ३६ करोड ५ लाख, माछापुच्छ्रे बैंकले ३३ करोड २१ लाख, सिटिजन्स बैंकले ३० करोड २७ लाख, नेपाल एसबीआई बैंकले २८ करोड, प्रााइम कमर्सियल बैंकले २४ करोड ३ लाख, नेपाल बैंकले २० करोड २१ लाख, एनआइसी एशिया बैंकले १६ करोड २७ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले १२ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेका छन् ।

सम्बन्धित समाचार