Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

५ महिनामै बदलियो लगानीकर्ताको धारणा : १५ मिनेटको औसत कारोबार रोक्ने व्यवस्था खारेज गर्न माग

५ महिनामै बदलियो लगानीकर्ताको धारणा : १५ मिनेटको औसत कारोबार रोक्ने व्यवस्था खारेज गर्न माग

अर्थ प्लस
५ महिनामै बदलियो लगानीकर्ताको धारणा : १५ मिनेटको औसत कारोबार रोक्ने व्यवस्था खारेज गर्न माग

काठमाण्डौ । बजार ३ हजार विन्दुबाट घटेपछि पछिल्लो समय लगानीकर्ताहरु दैनिकजसो नेप्से धाउन थालेका छन् । लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेञ्जले करिव ५ महिना अघि ल्याएको अन्तिम १५ मिनेटमा भारित औषत गणना गर्ने नियमका कारण बजार निरन्तर घटिरहेको दाबी गरेका छन् । नेप्सेको गत चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भई आएको कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन) २०८१ लाई कार्यान्वयन गर्दै चैत्र ७ गतेदेखि उक्त व्यवस्था लागू गर्ने निर्णय गरेको थियो ।  

यो नियम अनुसार २ः४५ पछिको १५ मिनेटको कारोबारलाई औषत कारोबार प्रणालीमा गणना गर्ने गरिन्छ । यसरी अन्तिम १५ मिनेटको कारोबारलाई औषतमा गणाना गर्दा घट्दो बजारमा झनै दबाब परेको लगानीकर्ताहरुको तर्क छ ।  

नेपाल इन्भेष्टर फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार भन्छन् ‘बढ्दो बजारमा त यसले खासै केही प्रभाव पर्ने थिएन । अन्तिम समयमा बजारमा चलखेल भयो भनेर नै यो नियम लगानीकर्ताहरुले नै माग गरेका थिए । छिमेकि मूलुकमा पनि यस्तो नियम रहेको छ । हामीले बजारमा चलखेल हुने ५÷७ वटा कम्पनीहरुमा मात्रै यस्तो नियम लगाउन भनेका थियौं । तर यसले समग्र सेयर बजारलाई नै असर गर्यो ।’  

यहि कारण अहिले आएर सोच बिचार गर्नु पर्ने देखियो रौनियार बताउँछन् । उनी थप्छन्, ‘ब्रोकरहरुले पनि यसले बजारलाई प्रभाव पारेको बताई रहेका छन् । मार्जिन कारोबार नल्याई यो नियम लगाउनु हतार भयो जस्तो देखिन्छ । पछि अध्ययन गर्ने गरि अहिलेलाई यो नियम हटाउँदा नै उपयुक्त हुन्छ ।’

यसैगरि, नेपाल सेयरधनी संघका सदस्य सरोज खड्काले पनि नेप्सेमै उपस्थि भएर भने ‘यो नियम लगानीकर्ताहरुले नै माग गरेर ल्याएको हो । जुत्ताले खुट्टा खाए पछि जुत्ता फेर्नु पर्छ । यो नियमले पनि लगानीकर्ताहरुलाई सास्ति दिए पछि सोच बिचार गर्नुपर्छ ।’  

यस्तै, नेपाल पूँजी बजार लगानीकर्ता संघका महासचिव एसपी चौंलागाईले १५ मिनेटको नियम लगानीकर्ताहरुसँग छलफल र सल्लाह नै नगरि केही सीमित लगानीकर्ताहरुको उक्साहटमा ल्याइएको आरोप लगाए । ‘यसलाई एमकेटिको अप्सनको बिकल्पमा यो ल्याइयो । यसमा नेप्सेसँग गणना गर्नका लागि प्राविधिक औजार नै छैन । सर्ट सेल, मार्केट अप्सन जस्ता औजार नल्याइकन नेप्सेले १५ मिनेटको नियम ल्यायो ।’ यो नियम हचुवाको भरमा आएको पनि चौलागाइले आरोप लगाए । उनले कुन समूहको कति वेटेज रहेको छ भन्ने राम्रो संग निक्र्योल नै नगरिकन यो नियमा ल्याइएको पनि आरोप लगाए ।

पूँजी बजारमा लागू हुने नयाँ व्यवस्थाहरुको विषयमा लगानीकर्ताहरुले समय–समयमा आफ्ना माग र अडानहरु फेर्ने गरेको पाइन्छ । यसअघि पनि लगानीकर्ताहरुले शुक्रबार सेयर कारोबार गर्न माग गरेका थिए । लगानीकर्ताहरुको माग अनुुसार नेप्सले केही समय शुक्रबार पनि सेयर कारोबार गर्यो तर पछि बजार घट्न थाले पछि लगानीकर्ताहरुको माग अनुसार नै पुनः शुक्रबारको कारोबार स्थगन गरिएको थियो ।  

के गर्ला नियामक ?

पछिल्लो समय दैनिक जस्तो बजारबाट लगानीकर्ताहरु १५ मिनेटको विषयलाई लिएर नेप्से घेर्ने गरेपछि सीईओ चूडामणी चापागाई रनभुल्लमा परेका छन् । नियम उनी आउनु भन्दा पहिलेदेखि नै लागू भएको थियो । नेप्से पुगेका लगानीकर्ताहरुलाई सीईओ चापागाईले सिस्टममा कुनै पनि त्रुटि नभएको र भए आफू सजाय भोग्न तयार रहेको बताई रहेका छन् ।  

चापाइगाईले एक दिन सबै सरोकारवालाहरुलाई बोलाएर अन्तिम १५ मिनेको विषयमा हलमा नै लाइभ हरेर निरीक्षण गर्ने प्रतिबद्धता पनि लगानीकर्ताहरुसँग गरेका छन् । लगानीकर्ता यो बिषय लिएर यस अघि नै धितोपत्र बोर्ड पुगिसेकेका छन भने आगामी आइतबार पनि जाने तयारीमा छन् ।  

यो विषयमा नेप्सेले एक्लै निर्णय लिन सक्दैन । यस विषयमा धितोपत्र बोर्ड नै अधिकार समपन्न रहेको छ । तर नेप्सेले टिप्पणी भने उठाएर पठाउनु पर्ने हुन्छ ।  हाल धितोपत्र बोर्डमा सबै बोर्ड सदस्य नरहेको कारण लामो समयदेखि बोर्ड बैठक पनि बस्न सकेको छेन । केही गरि नियामकले हटाउन चाहे पनि पुन धितोपत्र बोर्डको बैठक बसेर कारोबार सञ्चालन विनियामवली २०७५ लाई संशोधन गर्नु पर्ने हुन्छ । जसको लागि केही समय भने लाग्न सक्छ ।  

सम्बन्धित समाचार