काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूले लाभांश घोषणा गर्न थालेका छन् । सामान्यतया, असोज र कात्तिक महिना सेयर बजारमा लाभांश घोषणाको मुख्य सिजन मानिन्छ । हालसम्म १० वटा कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छन् । यी कम्पनीहरूले आर्थिक वर्षभरि कमाएको मुनाफाको केही हिस्सा वितरणयोग्य मुनाफाको रूपमा छुट्याएर सेयरधनीहरूलाई लाभांश प्रस्ताव गरेका छन् ।
लाभांश घोषणा गर्ने कम्पनीहरूमा अधिकांश बैंकहरू छन्, जसमा एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड समावेश छन् । त्यस्तै, हाइड्रोपावर समूहबाट सिक्लेस हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावर, लगानी समूहबाट हाथवे इन्भेष्टमेन्ट नेपाल, र उत्पादन तथा प्रशोधन समूहबाट नेपाल ल्युव आयलले लाभांश घोषणा गरेका छन् ।
गत आर्थिक वर्षको मुनाफाबाट सबैभन्दा बढी लाभांश प्रस्ताव गर्ने कम्पनी नेपाल ल्युव आयल हो, जसले २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । यता, सबैभन्दा कम लाभांश प्रस्ताव गर्ने कम्पनी नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड हो, जसले ६.३१ प्रतिशत नगद लाभांश मात्रै प्रस्ताव गरेको छ ।
लाभांश घोषणा गरेका १० कम्पनीमध्ये माछापुच्छ्रे बैंक र हाथवे इन्भेष्टमेन्ट नेपालको बुकक्लोज सम्पन्न भइसकेको छ, भने बाँकी ८ कम्पनीको बुकक्लोज हुन बाँकी छ । तीमध्ये कामना सेवा विकास बैंकले असोज ८ गते बुकक्लोज मिति तोकेको छ, जसअनुसार असोज ७ गतेसम्म कायम सेयरधनीले यो बैंकको लाभांश प्राप्त गर्नेछन् । बाँकी ७ कम्पनीले भने बुकक्लोज मिति तोकेका छैनन्, त्यसैले यी कम्पनीको सेयर खरिद गरेमा अझै लाभांश प्राप्त गर्न सकिन्छ ।
