काठमाडौं । सरकारले पूँजी बजार सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन शुरू गरेको छ । अर्थ मन्त्रालयले गठन गरेको कार्यदलले असोज ९ गते प्रतिवेदन बुझाएको दिन नै सम्बन्धित निकायहरूलाई कार्यान्वयनका लागि परिपत्र गरेको छ ।
अर्थ मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयले नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज (नेप्से), धितोपत्र बोर्ड र राजस्व महाशाखालाई पत्र पठाइएको पुष्टि गरे ।
ती निकायहरूले प्रतिवेदनमा सुझाइएका सुधारका विषयहरू कार्यान्वयन शुरू गरेको जानकारी पाण्डेयले दिए । कार्यदलले तत्काल गर्नुपर्ने सुझावहरू सम्बन्धित कार्यालयहरूले तुरुन्त लागू गर्ने तयारी गरेका छन् ।
मध्यम र दीर्घकालीन सुधारका लागि योजना बनाएर कार्यान्वयन गर्ने तयारी सरकारी निकायहरूले गरेका छन् ।
