Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

आईपीओको पाइपलाइनमा ३७ हाइड्रोपावर, दोस्रो बजारमै यी हाइड्रोको सेयर पाइन्छ आईपीओकै हाराहारीमा

आईपीओको पाइपलाइनमा ३७ हाइड्रोपावर, दोस्रो बजारमै यी हाइड्रोको सेयर पाइन्छ आईपीओकै हाराहारीमा

अर्थ प्लस
आईपीओको पाइपलाइनमा ३७ हाइड्रोपावर, दोस्रो बजारमै यी हाइड्रोको सेयर पाइन्छ आईपीओकै हाराहारीमा

नेपाल धितोपत्र बोर्डमा आईपीओ जारी गर्न आवेदन दिने कम्पनीहरूमध्ये सबैभन्दा धेरै हाइड्रोपावर कम्पनी छन्। हाल बोर्डबाट आईपीओ जारी गर्न स्वीकृति पर्खिरहेका ३७ वटा कम्पनी छन्। तर, चालु आर्थिक वर्षमा बोर्डले कुनै पनि हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छैन।

चालु आर्थिक वर्षमा जम्मा तीन कम्पनीले मात्र बोर्डबाट आईपीओ जारी गर्न अनुमति पाएका छन्। गत आर्थिक वर्षमा भने बोर्डले ६ वटा हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति दिएको थियो। पछिल्लो पटक २०८२ असार १५ मा बुङ्गुल हाइड्रोपावरले आईपीओ जारी गर्न अनुमति पाएको थियो। त्यसयता कुनै पनि हाइड्रोपावर कम्पनीले स्वीकृति प्राप्त गरेको छैन।

आईपीओ नआए पनि हाइड्रोपावर क्षेत्रमा लगानी गर्न चाहने लगानीकर्ताहरूले दोस्रो बजारमा सेयर खरिद गर्न सक्छन्। हाल दोस्रो बजारमा कारोबार हुने ९४ हाइड्रोपावर कम्पनीमध्ये ६ वटाको सेयर मूल्य २०० रुपैयाँभन्दा कम छ। पछिल्लो समय प्रिमियम मूल्यमा आईपीओ जारी हुने क्रम बढेको छ, जसले गर्दा १०० रुपैयाँले मात्र आईपीओ भर्न नपुग्ने अवस्था छ। हालै हिमालयन बैंकले प्रिमियम मूल्यमा एफपीओ जारी गरेको थियो।

दोस्रो बजारमा २०० रुपैयाँभन्दा कम सेयर मूल्य भएका हाइड्रोपावर कम्पनीहरूमा आँखुखोला जलविद्युत आयोजना, बलेफि हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, नेशनल हाइड्रोपावर, शिव श्री हाइड्रोपावर र अप्पर तामाकोशी हाइड्रोपावर छन्। बिहीबारको कारोबारअनुसार आँखुखोलाको सेयर मूल्य १९२.५० रुपैयाँ, बलेफिको १८६ रुपैयाँ, हिमाल दोलखाको १७९.९० रुपैयाँ, नेशनल हाइड्रोको १९८ रुपैयाँ, शिव श्री हाइड्रोको १७८ रुपैयाँ र अप्पर तामाकोशीको १८५ रुपैयाँ छ। हाइड्रोपावर क्षेत्रमा लगानी गर्न इच्छुक लगानीकर्ताहरूका लागि यी कम्पनीहरू उपयुक्त विकल्प हुन सक्छन्।

सम्बन्धित समाचार