काठमाडौं । धितोपत्र दोस्रो बजार लगातार तीन दिनदेखि ओरालो गतिमा छ । बिहीबार (असोज ३०) नेप्से परिसूचक १८.४० अंकले घटेर २४ सय तल झरेको छ । नेप्से परिसूचक ०.७३ प्रतिशतले घटेर २४८७.१७ विन्दुमा बन्द भएको छ ।
यो साताको पहिलो कारोबार दिन नेप्से एकै दिन ७८.८३ अंकले घटेको थियो । सोमबार भने ४४.२५ अंकले बढेको थियो । त्यसपछिका तीन कारोबारमा नेप्से परिसूचक घटिरहेको छ । मंगलबार नेप्से १९.४३ र बुधबार २२.५८ अंकले घटेको थियो ।
यस दिन कारोबार रकम भने बढेको छ । तीन अर्ब २७ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । बुधबार तीन अर्ब १० करोड १८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो । ४५ कम्पनीको सेयर मूल्य बढेको छ । १९७ कम्पनीको सेयर मूल्य घटेको छ । नौ कम्पनीको सेयर मूल्य स्थिर छ ।
हिमालयन पावर पार्टनरको सेयर मूल्य १० प्रतिशतले घटेको छ । मुक्तिनाथ विकास बैंकको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । यो बैंकको १५ करोड ३० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
कारोबारमा आएका १३ मध्ये म्युचुअल फन्ड समूहको परिसूचक बढेको छ । म्युचुअल फन्ड समूहको परिसूचक ०.२१ प्रतिशत बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।
