नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को नाफा ४० प्रतिशतभन्दा बढीले घटेको छ। बैंकले जारी गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४०.५७ प्रतिशतले नाफा घटेको हो।
चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले २० करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेकाले बैंकको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३३.६९ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ६.५६ प्रतिशतले घटेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ३३.०४ प्रतिशतले घटेको छ भने सञ्चालन मुनाफा ४०.४९ प्रतिशतले घटेको छ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा यस्तो आम्दानी २ रुपैयाँ ६४ पैसा घटेर ३ रुपैयाँ ८६ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ९७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६८.४६ गुणा रहेको छ।
२१ अर्ब ६० लाख रुपैयाँ चुक्ता पुँजी भएको यस बैंकको जगेडा कोषमा ४ अर्ब ३१ करोड २६ लाख रुपैयाँ सञ्चित छ। गत असोज मसान्तसम्ममा बैंकले ७ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब १८ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
