काठमाडौं । गत असारमा आईपीओ जारी गरेको विकास हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीले यस अवधिमा १ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ९८ लाख ९९ हजारको तुलनामा ७९.३४ प्रतिशतले बढी हो। विद्युत् बिक्रीबाट कम्पनीले ३ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ, यो अघिल्लो वर्षको तुलनामा ८.६८ प्रतिशतले वृद्धि भएको हो।
पहिलो त्रैमासमा वित्तीय खर्च उल्लेखनीय रूपमा घटेको छ। अघिल्लो वर्ष १ करोड ३३ लाख रहेको वित्त खर्च यसपटक ६३ लाख ६५ हजारमा झरेको छ। ९० करोड ९१ लाख चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३ करोड ४२ लाख रुपैयाँ जम्मा भएको छ। कम्पनीले विभिन्न प्रयोजनका लागि २७ करोड ४६ लाख रुपैयाँबराबरको मध्यम तथा दीर्घकालीन ऋण लिएको छ।
कम्पनीको कुल चालु सम्पत्ति ८ करोड ६८ लाख र कुल चालु दायित्व २ करोड ३० लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) १.९५ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १०३.७७ रुपैयाँ, प्रतिशेयर कुल सम्पत्तिको मूल्य १३६.५२ रुपैयाँ र तरलता अनुपात ३.७६ गुणा कायम भएको छ।
