काठमाडौं – फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले कुल १७ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्नेछ।
आईपीओ निष्कासनका लागि विक्री प्रबन्धकको जिम्मेवारी एनएमबी क्यापिटल लिमिटेडलाई दिइएको छ। कार्तिक २६ गते सम्पन्न सम्झौतामा फेदीखोला हाइड्रोपावरका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलाल र एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले हस्ताक्षर गरेका छन्।
कम्पनीले जारी पूँजीको २२ प्रतिशत अर्थात् १७ करोड ६० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्नेछ। यी सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, कम्पनीका कर्मचारी तथा सर्वसाधारण लगानीकर्तालाई वितरण गरिनेछ।
भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ मा निर्माणाधीन ४.३ मेगावाटको फेदी (थुमलुङ) जलविद्युत् आयोजनाको कुल लागत करिब ९४ करोड रुपैयाँ छ। हालसम्म ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको र २०८२ माघसम्ममा आयोजना पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य रहेको कम्पनीले जनाएको छ।
निर्माण सम्पन्न गरी नियामक निकायका सबै प्रक्रिया पूरा गरेपछि चाँडै नै आईपीओ निष्कासन गरिने प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले बताए।
