Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

सारथी केबल इन्डष्ट्रिजको आईपीओ तयारीसँगै व्यापार ४१ प्रतिशतले वृद्धि

सारथी केबल इन्डष्ट्रिजको आईपीओ तयारीसँगै व्यापार ४१ प्रतिशतले वृद्धि

अर्थ प्लस
सारथी केबल इन्डष्ट्रिजको आईपीओ तयारीसँगै व्यापार ४१ प्रतिशतले वृद्धि

काठमाडौं । प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को तयारीमा रहेको सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा कुल ५४ करोड २० लाख रुपैयाँको कारोबार गरेको छ। यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा ४१.१५ प्रतिशतले बढी हो, जतिबेला कम्पनीको कारोबार ३८ करोड ४० लाख रुपैयाँ मात्र थियो।

सोही अवधिमा कम्पनीको इबिटा (EBITA) मार्जिन २.९६ प्रतिशतबाट उल्लेखनीय रूपमा बढेर १६.८७ प्रतिशत पुगेको छ, जुन पछिल्ला पाँच आर्थिक वर्षयताकै उच्च हो। इबिटा भनेको ब्याज, कर, ह्रासकट्टी र परिशोधनअघिको सञ्चालन नाफा हो। यद्यपि, इबिटा मार्जिनमा सुधार भए पनि कम्पनीको करअघिको खुद नाफा भने १ प्रतिशतभन्दा कम रहेको छ।

कम्पनीले ८० करोड रुपैयाँबराबरको कर्जाको रेटिङ गराएको छ, जसमा ४९ करोड दिर्घकालीन र ३१ करोड अल्पकालीन कर्जा समावेश छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ एजेन्सीले दिर्घकालीन कर्जालाई ‘BBB-’ र अल्पकालीन कर्जालाई ‘A4’ रेटिङ प्रदान गरेको छ।

भुषाल ग्रुपअन्तर्गत सञ्चालित यो कम्पनी यसअघि ‘भुषाल केवल एण्ड वायर इन्डष्ट्रिज प्रालि’ नाममा दर्ता थियो। गत जुलाईमा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएसँगै यसको नाम ‘सारथी केबल इन्डष्ट्रिज लिमिटेड’ कायम गरिएको हो।

कम्पनीले तामा र एलुमिनियमबाट निर्मित तार तथा केबल उत्पादन गर्दै आएको छ। यसको उत्पादन संयन्त्र रुपन्देही जिल्लामा अवस्थित छ र वार्षिक उत्पादन क्षमता २,७०९ मेट्रिक टन रहेको छ। कम्पनीसँग पाँच प्रदेशमा गरी कुल २१५ डिलर सञ्जाल विस्तार भएको छ।

कम्पनीका प्रमुख सेयरधनी अंकित भुषालसँग ९९.७६ प्रतिशत सेयर स्वामित्व रहेको छ।

सम्बन्धित समाचार