काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको आम्दानीमा आएको संकुचनका कारण नाफामा उल्लेखनीय असर परेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको कुल आम्दानी र खुद नाफा दुवैमा कमी आएको हो।
समीक्षा अवधिमा कम्पनीले २ अर्ब २ करोड रुपैयाँको कारोबार गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.०२ प्रतिशतले कम हो।
यसैगरी, खुद नाफामा ४३.०६ प्रतिशतको गिरावट आई ३० करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा कम्पनीले ५२ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
कम्पनीको कुल खर्च भने १.३८ प्रतिशतले वृद्धि भई १ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६३ करोड रुपैयाँ थियो।
यद्यपि, रिटेन्ड अर्निङमा २.९१ प्रतिशतको सुधार भएको छ र यसको आकार ५ अर्ब ४३ करोड रुपैयाँ कायम भएको छ।
समीक्षा अवधिसम्म कम्पनीको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी (EPS) १,८८४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ६,००३ रुपैयाँ र तरलता अनुपात २.५४ गुणा रहेको छ। अघिल्लो आर्थिक वर्षमा यी आँकडा क्रमशः २,०९६ रुपैयाँ र ५,८३६ रुपैयाँ थिए।
